सम्झौता भएको डेढ वर्षमा सोचेअनुसारको काम हुन सकेको छैन । काम सक्न अब सात महिना मात्र बाँकी छ । अहिलेको कामको गति हेर्दा दुई वर्षभित्र सक्ने सम्भावना कमै देखिन्छ ।
नेपाल टेलिकमको अप्टिकल फाइबर बिछ्याउने कार्य टेन्डर प्रक्रियामै सीमित भएको छ । नेपाल टेलिकम, युनाइटेड टेलिकम र स्मार्ट टेलिकम कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणसँग गरेको सम्झौताअनुरुप दुई वर्षमा सो परियोजना सम्पन्न गरिसक्नुपर्ने प्रावधान छ ।
सम्झौता भएको डेढ वर्षमा सोचेअनुसारको काम हुन सकेको छैन । काम सक्न अब सात महिना मात्र बाँकी छ । अहिलेको कामको गति हेर्दा दुई वर्षभित्र सक्ने सम्भावना कमै देखिन्छ । नेपाल टेलिकमले भने नियम कानुनमा बसेर काम गर्नुपर्ने भएकाले ढिला हुन सक्ने जनाएको छ । तर नेपाल टेलिकमले पाएको अप्टिकल फाइबर बिछ्याउने योजना टेन्डर प्रक्रियामा नै अड्किएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले बताइन् ।
टेलिकमको प्रस्तावमा ६ सय १९ किलोमिटर अप्टिकल फाइबर विस्तार गर्न चार अर्ब आवश्यक पर्ने उनको भनाइ छ । टेलिकमका तीन ओटा टेन्डरमध्ये एउटा माइक्रोवेज टेन्डर सम्पन्न गरेको उनले जानकारी दिइन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वी खण्ड पाँचथरको चियो भन्ज्याङदेखि धादिङको आरुघाट तथा प्रदेश १,२ र तिनका राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडकमा अप्टिकल फाइबर बिछ्याई यी प्रदेशका सबै जिल्ला सदरमुकाम, नगरपालिका तथा गाउँपालिकालाई सूचना मार्गले जोड्ने गरी करिब चार अर्ब रुपैयाँ ग्रामीण दूरसञ्चार विकास कोषको रकम बाँडफाँट गरिएको थियो ।
२०७३ साल असोज १६ गते अप्टिकल फाइबर बिछ्याउने काम प्राधिकरणले टेलिकमलाई दिएको थियो । प्राधिकरणले दिएको समयावधिअनुसार टेलिकमले ६ महिनाभित्र सो काम सक्नुपर्नेछ । तर सो अप्टिकल फाइबर बिछ्याउने काम सकिने छाँटकाँट भने छैन ।
मध्यपहाडी लोकमार्गको पूर्वी खण्ड पाँचथर चियो भञ्ज्याङदेखि धादिङको आरुघाट प्रदेश १, २ र ३ का राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडकमा अप्टिकल फाइबर बिछ्याउन जिम्मा दिइएको प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले जानकारी दिए । टेलिकमले अप्टिकल फाइबरको काम सात महिनाभित्र पूरा गरिसक्नुपर्ने भए पनि उक्त योजना नसकिने देखिएको उनको भनाइ छ ।
युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)को पनि अप्टिकल फाइबर बिछ्याउने योजना सुस्त छ । यूटीएलले दुई अर्ब रुपैयाँ लगानीमा प्रदेश ४ र ५ मा रहेका राजमार्ग, जिल्ला सदरमुकाम जोड्ने सडकमा अप्टिकल फाइबर सञ्जाल बिछ्याई प्रदेशका सबै जिल्लामा अप्टिकल फाइबर योजनाको जिम्मा लिएको थियो । यो परियोजना पनि छलफलमै सीमित छ । यूटीएलले परियोजनाको काम सक्न अब एक वर्ष दुई महिना मात्र बाँकी छ ।
स्मार्ट टेलिकमको करिब तीन अर्ब रुपैयाँ लगानीमा प्रदेश ६ र ७ मा अप्टिकल फाइबर नेटवर्क योजना पनि सुस्त छ । यी प्रदेशमा यूटीएलले १६ महिनाभित्र काम सक्नुपर्नेछ ।