एउटा बैङ्क शाखा खोल्दा शाखा प्रबन्धक, कर्जा, मार्केटिङ, टेलर, रिसेप्सन, सुरक्षा गार्ड र सहयोगी गरी कम्तीमा ८ जना कर्मचारी आवश्यक पर्छन् । तर, यो सङ्ख्या ठाउँ हेरीकन बढी पनि हुन सक्छ । केन्द्रीय बैङ्कले वैशाखभित्र २ सय ४३ स्थानीय तहमा र १ सय १६ स्थानीय तहमा असारभित्र अनिवार्य रुपमा बैङ्क खोल्नेपर्ने बाध्यतात्मक व्यवस्था गरेको छ ।
चालू आर्थिक वर्षको बाँकी ४ महिनाभित्र नेपालका २७ वाणिज्य बैङ्कले कम्तीमा २ हजार ५ सयभन्दा बढीलाई रोजगारी दिने भएका छन् । केन्द्रीय बैङ्कले वाणिज्य बैङ्क नपुगेका ३ सय ५९ स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैङ्क जानैपर्ने बाध्यात्मक व्यवस्था गरेपछि बैङ्कमा एकैपटक धेरै रोजगारी सिर्जना भएको हो ।
मेगा बैङ्क नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेलीले केन्द्रीय बैङ्कको निर्देशनका कारण एकै पटक बैङ्कमा धेरैलाई रोजगारीको अवसर रहेको बताइन् । बैङ्कहरुले कर्मचारी छनोट गरी आवश्यक प्रारम्भिक तालिम दिएर काममा लगाउने गर्छ । ‘बैङ्कको रोजगारी सुरक्षित र आकर्षक भएकाले धेरैको ध्यान तानिएको छ,’ उनले भनिन्, ‘व्यवसाय विस्तारका लागि बैङ्कहरु आफैंले शाखा विस्तारलाई प्राथमिकता दिइरहेका बेला केन्द्रीय बैङ्कको निर्देशनले थप शाखा खोल्नुपर्ने बाध्यतामा बैङ्कहरु छन् ।’
एउटा बैङ्क शाखा खोल्दा शाखा प्रबन्धक, कर्जा, मार्केटिङ, टेलर, रिसेप्सन, सुरक्षा गार्ड र सहयोगी गरी कम्तीमा ८ जना कर्मचारी आवश्यक पर्छन् । तर, यो सङ्ख्या ठाउँ हेरीकन बढी पनि हुन सक्छ । केन्द्रीय बैङ्कले वैशाखभित्र २ सय ४३ स्थानीय तहमा र १ सय १६ स्थानीय तहमा असारभित्र अनिवार्य रुपमा बैङ्क खोल्नेपर्ने बाध्यतात्मक व्यवस्था गरेको छ । केन्द्रीय बैङ्कले कुन बैङ्क कुन स्थानीय तहमा जाने भनेर गत चैतमा सूची नै प्रकाशित गरेको थियो । नेपालमा सञ्चालित २८ वाणिज्य बैङ्कमध्ये केन्द्रीय बैङ्कले स्ट्यान्डर्ड चार्टर्ड बैङ्कलाई मात्रै बैङ्क शाखा अनिवार्य खोल्ने निर्देशन दिएको छैन ।
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैङ्कको शाखा एकैपटक गाउँमा छिर्दा ठूलो सङ्ख्यामा रोजगारी सिर्जना भएको बताए । ‘वाणिज्य बैङ्कहरु देशभरका स्थानीय तहको गाउँसम्म पुगिरहेका छन् । केही जाँदै छन्, यसले रोजगारी बढाएको छ,’ उनले भने ।
नयाँ शाखा खोलेका ठाउँमा सुरक्षाको प्रबन्ध मिलाइएको हुन्छ । केन्द्रीय बैङ्कले यसअघि नै नयाँ स्थानमा शाखा खोल्दा सुरक्षा प्रवन्ध नभए अर्थ मन्त्रालयले समन्वय गर्ने उल्लेख गरेको छ । खासगरी बैङ्क जानुअघि नै ती स्थानमा विद्युत्, सडक र सञ्चारको पहुँच पुगिसकेको हुन्छ । यसले स्थानीय उत्पादन बजारसम्म आउन सघाउँछ भने स्थानीय आवश्यकता परिपूर्ति गर्न र त्यहाँको कुन्तुरमा बसेको निक्षेप बैङ्कसम्म आइपुग्न सहयोग पुग्छ । प्रायः बैङ्कहरुले नयाँ स्थानमा शाखा खोल्दा स्थानीय व्यक्तिहरुलाई नै प्राथमिकतामा राखेका हुन्छन् ।