पर्यटन मन्त्री अधिकारीले सोधे, पुनःनिर्माण कहिले सकिन्छ ?

भूकम्पले क्षतिग्रस्त भएको प्रताप मल्लको शालिक बैशाख १२ गते पुनःस्थापना गर्ने गरी कामलाई तीव्रता दिइएको छ । सुनको जलप लगाएर अहिले धमाधम निर्माण कार्य अघि बढाइएको छ ।

संस्कृति, पर्यटन नथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माणमा भइरहेको ढिलाइबारे चासो व्यक्त गरेका छन् । भूकम्प गएको तीन वर्ष पूरा हुन लाग्दासमेत सांस्कृतिक सम्पदाहरुको निर्माण सम्पन्न नभएको भन्दै सम्बन्धित निकायलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

पुरातत्त्व विभागअन्तर्गत पर्ने सांस्कृतिक सम्पदाहरुको बुधबार स्थलगत निरीक्षण गर्दै कामको प्रगतिबारे चासो लिएका थिए । हनुमान ढोकामा रहेको दरबारक्षेत्रस्थित गद्दी बैठकको निरिक्षण गर्दै समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई समेत साथमा राखेर काठमाडौंभित्र रहेको पुरातत्त्व सम्पदाहरुको पुननिर्माण तीव्र बनाउन आग्रह गरेका छन् । ’हाम्रो सम्पत्ति भनेकै पुराना सम्पदाहरु हुन्, यसलाई समयमै पुनःनिर्माण गरी पर्यटन क्षेत्रमा ठूलो सहयोग पु¥याउनु पर्छ,’ मन्त्री अधिकारीले भने, ’मन्त्रालयबाट आवश्यक सहयोग गर्छु ।’
हनुमानढोकामा रहेको गद्दी बैठक अमेरिकी सहयोगमा पुनःनिर्माण कार्य असारभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइरहेको पुरातत्त्व विभागकी अरुणा न्यौपानेले जानकारी दिइन् । अमेरिकाले २०७३ असोजमा ७ लाख डलर अनुदान दिने घोषणा गरेको थियो । त्यसको एक वर्षपछि जिर्णोद्धार सुरु भएको हो ।

यस्तै भूकम्पले क्षतिग्रस्त भएको प्रताप मल्लको शालिक बैशाख १२ गते पुनःस्थापना गर्ने गरी कामलाई तीव्रता दिइएको छ । सुनको जलप लगाएर अहिले धमाधम निर्माण कार्य अघि बढाइएको छ । यस्तै जेठ १५ बाट काष्ठमाण्डपको पुनःनिर्माण थालिने मन्त्री अधिकारीले जानकारी दिए ।
मन्त्री अधिकारीले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूको पनि स्थलगत निरीक्षण गरेका छन् । स्वयम्भूभित्र पुनःनिर्माण भइरहेका संरचना पनि निर्धारित समयमै सक्न निर्देशन दिए । बौद्ध धर्मावलम्बीहरुको प्रमुख धार्मिक स्थल स्वयम्भू क्षेत्रभित्र रहेका स्तुपहरु भूकम्पले क्षतिग्रस्त बनाएको थियो ।

मन्त्री अधिकारीले केही साताअघि आफ्ना सयदिने कार्यक्रम सार्वजनिक गर्दै भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदामध्ये १३ ओटा पुनःनिर्माण भइसक्ने बताएका थिए । भूकम्पले ७ सय ५३ सम्पदाहरु क्षति बनाएकोमा हालसम्म ८२ ओटा पुनःनिर्माण भइसकेका छन् ।