सडक बनेसँगै दुर्घटना पनि बढे

खाल्डाखुल्डी हुँदा सवारीको गति कम हुने भए पनि अहिले तीव्रगतिमा सवारी गुडेपछि दुर्घटना बढ्दै गएका हुन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड सहज बन्दै जाँदा दुर्घटना पनि बढेर गएका छन् । विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको सो सडक नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर र त्यस उता मुग्लिनसम्म नौ मिटर चाैडा बनेको छ ।

खाल्डाखुल्डी हुँदा सवारीको गति कम हुने भए पनि अहिले तीव्रगतिमा सवारी गुडेपछि दुर्घटना बढ्दै गएका हुन् । नारायणगढ मुग्लिन सडकखण्डमा यस आर्थिक वर्षको साउन महिनामा एक सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो । भदौ महिनामा दुर्घटना भएको थिएन भने असोजमा एक दुर्घटनामा एकको मृत्यु भएको थियो । कात्तिक महिनामा ६ दुर्घटना हुँदा एकको मृत्यु र एक जना घाइते भएका थिए । मङ्सिरमा दुई दुर्घटनामा परी एकको मृत्यु र एक जना घाइते भएका थिए । पुसमा दुई दुर्घटनामा एकको मृत्यु र एक घाइते भएका थिए ।

पछिल्ला समय सडक सहज बनेसँगै दुर्घटनाको र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । माघ महिनामा सो सडक खण्डमा चार अेटा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने, एक जना घाइते भएका थिए । फागुन महिनामा ६ अाेटा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए । चैत महिनामा आठअाेटा दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तकाअनुसार जब सडकयात्रा सहज हुँदै गयो तब दुर्घटना बढेको देखिन्छ । सो सडक खण्डमा कालोपत्रे गर्ने काम माघ महिनाबाट तीव्र गतिमा अगाडि बढेको थियो । त्यही महिनाबाट सवारी दुर्घटनाको सङ्ख्या बढ्दै गएको छ । सडक निर्माणको क्रममा सडकमा सङ्केत कम भएको र सवारी चालकले तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढेको ट्राफिक प्रमुख पन्तले बताए । ‘सडक र सडक किनारामा हुनुपर्ने ट्राफिक सङ्केत नहुँदा जथाभावी सवारी चलाउँदा पनि दुर्घटना बढेको पाइन्छ,’ उनले भने ।

बाटो सहज बन्दै जाँदा दुर्घटना बढेको देखिन्छ, नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले भने, “बाटो सहज छ भन्दैमा हतारमा सवारी चलाउनाले दुर्घटना बढेको हो ।” पछिल्ला दुई महिनामा सडक दुर्घटना बढेपछि आयोजनाले जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर सचेतनाको कार्यक्रम सञ्चालन गर्न लागेको खनालले जानकारी दिए ।

“पहिला सडकमा खाल्डाखुल्डी हुँदा कम दुर्घटना भएको थियो, अहिले ३३ दशमलव २ किलोमिटरमध्ये ३० किलोमिटर कालोपत्रे भएकाले सडकमा सवारी चालकले अनियन्त्रित रुपमा सवारी चलाई दिँदा दुर्घटना बढेको पाइन्छ” खनालले भने । आयोजनाले नियन्त्रित रुपमा र लाइनमा सवारी चलाउन सचेतना कार्यक्रम चलाउन सुरु गरेको उनले बताए ।

सडक बने पनि पुल नबन्दा सवारी जाम हुने र दुर्घटना बढ्ने समस्या देखिएको छ । रासस