अनेकन उतारचढाव झेल्दै दुवै बैङ्क एकीकृत भएर आगामी वैशाख १९ गतेदेखि संयुक्त रुपमा वित्तीय कारोबार सुरु गर्ने भएका छन् ।
अन्ततः एनआईडीसी डेभलपमेन्ट बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कमा गाभिने भएको छ । अनेकन उतारचढाव झेल्दै दुवै बैङ्क एकीकृत भएर आगामी वैशाख १९ गतेदेखि संयुक्त रुपमा वित्तीय कारोबार सुरु गर्ने भएका छन् ।
दोस्रो जनआन्दोलन (२०६२/६३) पछि नेपालको वित्तीय क्षेत्रमा सरकारी स्वामित्वका दुई ठूला संस्था राष्ट्रिय वाणिज्य बैङ्क र एनआईडीसी डेभलपमेन्ट बैङ्क पूर्वाधार विकास बैङ्क बनाउने कि राष्ट्रिय वाणिज्य बैङ्कमा गाभ्ने भन्ने विषयमा व्यापक बहस चल्यो । मर्जरमा लाने कि पूर्वाधार विकास बैङ्क बनाउने भन्नेमा नीति निर्माताहरूबीच ठूलै वादविवाद भयो । यसैबीच आर्थिक वर्ष २०६७/६८ मा एनआईडीसीलाई राष्ट्रिय वाणिज्य बैङ्कमा गाभ्ने निर्देशन भयो । तर, प्रक्रिया अघि बढ्न सकेन । फेरि आर्थिक वर्ष २०७०/७१ मा एनआईडीसीलाई पूर्वाधार विकास बैङ्क बनाउने घोषणा गरियो । यो पनि घोषणामै सीमित भयो । अन्य बैङ्क तथा वित्तीय संस्था मर्जरको लहरमा थिए ।
तर, सरकारीस्तरका बैङ्क भने कहिले मर्ज त कहिले पूर्वाधार बैङ्क बनाउने सरकारैपिच्छे आउने फरक फरक निर्णयका सिकार भएका थिए । फेरि चालू आर्थिक वर्षमा एनआईडीसीलाई राष्ट्रिय वाणिज्य बैङ्कमा गाभ्ने नीति आयो र गत असोजमा मर्जरमा लाने नीति ल्याइयो । सरकारको प्रत्यक्ष निर्देशनमा गत भदौमा दुई बैङ्कबीच मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर भयो र २०७४ असोज २४ गते नेपाल राष्ट्र बैङ्कबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि मर्जर प्रक्रिया अघि बढ्यो भने गत माघ २१ गते अन्तिम स्वीकृतिका केन्द्रीय बैङ्कमा निवेदन दिएकामा चैत २२ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाए । बल्ल तेस्रो प्रयासमा दुवै बैङ्क एक भए ।
एनआईडीसी गाभिएर राष्ट्रिय वाणिज्य बैङ्कले आगामी वैशाख १९ गते बुधबारदेखि एकीकृत कारोबार गर्ने प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिएका छन् । वैशाख ३ गते कम्पनी रजिस्ट्रारको कार्यालबाट एनआईडीसी गाभ्ने अनुमति राष्ट्रिय वाणिज्य बैङ्कले पाएपछि एकीकृत कारोबार गर्ने समय तोकिएको हो ।
नेपालमा दोस्रो वाणिज्य बैङ्कका रुपमा २०२२ माघ १० गते कारोबार सुरु गरेको राष्ट्रिय वाणिज्य बैङ्क पूर्ण सरकारी स्वामित्वको वाणिज्य बैङ्क हो । उसको चुक्ता पुँजी ८ अर्ब ५८ करोड ९० लाख रुपैयाँ छ । त्यसैगरी औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यसहित औद्योगिक क्षेत्रमा ऋण लगानी गर्ने प्रयोजनका लागि २०१६ असार १ देखि सञ्चालनमा आएको एनआईडीसी डेभलपमेन्ट बैङ्कमा ९९.२६ प्रतिशत लगानी सरकारको छ भने ०.७४ प्रतिशत लगानी सर्वसाधारणको छ । यसअघि सर्वसाधारणले सेयर बेच्न चाहेमा ४४८५ रुपैयाँ प्रतिकित्ताका दरले रकम फिर्ता पाउने एनआईडीसीले जनाएको थियो ।
निकै लामो समयदेखि सरकारी स्वामित्वका यी दुई बैङ्क एकीकरण गर्ने भनिएपनि विभिन्न कारणले रोकिँदै आएको थियो । एनआईडीसीको हाल चुक्ता पुँजी ४१ करोड ५८ लाख रुपैयाँ छ । यसअघि दुवै बैङ्कको सेयर स्वाप अनुपात १ः१ (एक बराबर एक) नै तय गरिएको थियो । एनआईडीसी बैङ्क सुरुमा नेपाल औद्योगिक विकास कर्पोरेशन ऐनअनुसार स्थापना भएको थियो । एनआईडीसीले त्यहाँ कार्यरत कर्मचारीलाई स्वेच्छिक अवकाश योजना (भीआरएस)मार्फत कर्मचारी विदाई कार्यक्रम ल्याइसकेको छ ।
राष्ट्रिय वाणिज्य बैङ्कले पुससम्म १ खर्ब ४९ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब १० अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । १३ वर्ष अगाडि बैङ्कको खराब कर्जा ६० प्रतिशतभन्दा धेरै भएपछि नेपालमा वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत ७ अर्बभन्दा बढी विश्व बैङ्कको ऋण खर्च गरिएको थियो । हाल बैङ्कको खराब कर्जा २.८९ प्रतिशत छ । बैङ्कका हाल ६९ जिल्लामा १ सय ८० शाखा, १ सय ३० एटीएम, १७ एक्सटेन्सन काउन्टर र ९२ शाखारहित बैङ्किङ सेवा सञ्चालनमा छन् । एनआईडीसीले १ अर्ब १५ करोड निक्षेप सङ्कलन गरी ३ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने ५ ओटा शाखा सञ्चालनमा छन् ।