पञ्चेश्वर परियोजनाको समस्या हल गर्न काठमाडौँमा संयुक्त बैठक आजबाट

पश्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई प्राथमिकता दिँदै आयोजनालाई अगाडि बढाउने विषयमा बैठक केन्द्रित हुने जनाइएको छ ।

विगत २३ वर्षदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको समस्या हल गर्न सोमबारदेखि काठमाडौँमा भारतका जलस्रोत अधिकारी सम्मेलित संयुक्त बैठक सुरु हुने भएको छ । पश्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई प्राथमिकता दिँदै आयोजनालाई अगाडि बढाउने विषयमा बैठक केन्द्रित हुने जनाइएको छ ।

प्राधिकरणका कार्यकारी अधिकृत महेन्द्र गुरुङले भारतका ऊर्जा सचिवहरुसँगको बैठक महत्त्वपूर्ण रहेको बताए । उनले विगतदेखि नै पञ्चेश्वर परियोजनामा देखिएको विवाद तथा समस्या समाधानका लागि बैठक महत्त्वपूर्ण हुने बताए । प्राधिकरणको प्रशासनिक, आर्थिक तथा कानुनी विषयमा छलफल गर्ने र सहमति जुटाउने कार्यसूची छ । त्यस्तै विस्तृत परियोजना प्रतिवेदनका सम्बन्धमा समेत आवश्यक सहमति जुटाउन अर्को बैठकको मितिसमेत तय गर्ने विश्वास लिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला पञ्चेश्वर आयोजनाको विषयमा कुराकानी हुने चर्चा चलेको थियो । भारतीय कम्पनीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक सहमति हुन सकेको छैन ।

भारतीय पक्षले तल्लो शारदा बाँधमा उपलब्ध हुने पानीको मात्रामा तलमाथि हुन नहुने विषय उठाउँदै आएको छ भने नेपालले भने समानताका आधारमा पानी उपलब्ध हुने विषय अगाडि सार्दै आएको सरकारी धारणा छ । विगत २३ वर्षदेखि आयोजना चर्चामा आए पनि कुनै ठोस प्रगति हुन सकेको छैन । यस पटकको बैठकलाई फलदायी बनाएर आयोजना अगाडि बढाउने सोचाइमा प्राधिकरण रहेको छ ।