एनबीआईले डिजिटाइजेसनसम्बन्धी अध्यापन र परामर्श सेवा दिने

एनबीआईले आगामी केही समयभित्रै डिजिटाइजेसनमा सर्टिफिकेसन कोर्ष सञ्चालन गर्नुका साथै डिजिटाइजेसनसम्बन्धी परामर्श सेवा दिने घोषणा गरेको छ ।

नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई)ले डिजिटाइजेसनमा नयाँ पाठ्यक्रम सुरु गर्ने भएको छ । एनबीआईले आगामी केही समयभित्रै डिजिटाइजेसनमा सर्टिफिकेसन कोर्ष सञ्चालन गर्नुका साथै डिजिटाइजेसनसम्बन्धी परामर्श सेवा दिने घोषणा गरेको छ । एनबीआई र बैङ्किङ् डिजिटाइजेसनविज्ञ राहुल जोशीबीच सेवा आदानप्रदान गर्ने सम्झौतापछि एनबीआईले यस्तो घोषणा गरेको हो ।

एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीव शुब्बा र विगत २ दशकदेखि भारतको सबैभन्दा ठूलो निजी बैङ्क आईसीआईसीआईको डिजिटल नीति सम्हाल्दै आएका जोशीबीच हालै नेपालमा डिजिटाइजेसनमा आवश्यक परामर्श दिनेबारेमा सम्झौता भएको छ । नेपालमा डिजिटाइजेसनका बारेमा सर्टिफिकेसन कोष सुरु गर्न र यसबारेमा परामर्श दिन दुवै पक्ष सहमत भएका छन् ।

सम्झौताअनुसार मुम्बई निवासी जोशीले एनबीआईमार्फत् नेपालका बैङ्क तथा वित्तीय संस्थाहरुलाई डिजिटाइजेसनमा परामर्श दिनेछन् । यसले बैङ्क तथा वित्तीय संस्थाहरु डिजिटाइजेसनलाई एक प्रकारको व्यापारिक रणनीतिको रुपमा लिएर अघि बढ्न सहज हुने र त्यसले ग्राहक तथा व्यापार व्यवसायलाई प्रभावकारी रुपले अभिवृद्धि गर्न सहयोग पुग्ने एनबीआईले उल्लेख गरेको छ ।