भारतीय कम्पनीद्वारा नक्कली खुकुरी चुरोट उत्पादन गरी नेपाल निर्यात

नेपाली ब्रान्डलाई दुरुस्तै कपी गरेर खुकुरी चुरोट भारतमा उत्पादन भएको सूर्य नेपालका कर्पाेरेट भाइस प्रेसिडेन्ट रवि केसीले बताए । ‘भारतीय कम्पनीले खुकुरी चुरोट उत्पादन गरेर नेपाल नै पठाएको छ,’ उनले भने ।

भारतीय कम्पनीले नेपाली ब्रान्ड खुकुरी चुरोटको नक्कली उत्पादन गरेर नेपाली बजारमा निर्यात गरिरहेको छ । नाम, प्याकेज र रङ दुरुस्तै बनाएर भारतीय कम्पनी गोल्ड स्टेप टोबाको प्रालि पटनाले उत्पादन गरेको खुकरी चुरोट नेपालको तराई क्षेत्रका बजारमा ठूलो मात्रामा भेटिएको हो ।

नेपाली उपभोक्तालाई लक्ष्य गरी सूर्य नेपालको उत्पादनलाई भारतीय कम्पनीले नेपाली ब्रान्ड कपी गरी उत्पादन गरेको हो । कम्पनीले प्याकेटमा नेपाली भाषामै नाम र जानकारी राखेर उत्पादन नेपाल पठाएको हो । नेपालमा भित्रिएको खुकुरी चुरोट गैरकानुनी रुपमा नै भित्रिएको सूर्य नेपालले जनाएको छ ।

नेपाली ब्रान्डलाई दुरुस्तै कपी गरेर खुकुरी चुरोट भारतमा उत्पादन भएको सूर्य नेपालका कर्पाेरेट भाइस प्रेसिडेन्ट रवि केसीले बताए । ‘भारतीय कम्पनीले खुकुरी चुरोट उत्पादन गरेर नेपाल नै पठाएको छ,’ उनले भने । भन्सारबाट पनि सहजै छिरेपछि तराईका बजारमा नक्कली खुकुरी चुरोट सहजै पाइन थालेको उनले बताए ।

सरकारले बर्सेनि चुरोटमा अन्तःशुल्क वृद्धि गर्दै आएको छ । यसले चुरोटको मूल्यवृद्धि भएकाले नक्कली चुरोट देखिन थालेको केसीको भनाइ छ । नेपाली ब्रान्ड नै कपी गरेर भन्सार छलेर चुरोट आएकाले यसलाई सरकारले नै रोक्नुपर्ने उनले बताए । ‘हामीले भारतको साझेदारसँग यो कुरा गरिसकेका छौं । सूर्य नेपालमा भारतीय लगानी पनि भएकाले उनीहरुले पनि त्यहाँ गम्भीर भएर अगाडि बढेका छन्,’ उनले भने ।

खुकुरी चुरोट नेपालमा सूर्य नेपालको तेस्रो ठूलो ब्रान्ड हो । सूर्य नेपालको देशभर ५ सय होलसेलर र १ लाख रिटलेरमार्फत सूर्य, शिखर, खुकुरी, पाइलट, बिजली र चौतारी चुरोट बिक्री गर्दै आएको छ ।