कर्मचारी तालिमप्राप्त र अनुभवी हो कि होइन ? उसको क्षमता जिम्मेवारीअनुरुपमा छ कि छैन ? भन्ने हेरिँदैन । त्यहाँ फलानोले काम गरेको छ भन्ने आधारमा अर्को बैङ्कले कर्मचारी तान्ने प्रवृत्ति बढेको एक बैङ्कर बताउँछन् ।
मेगा बैङ्कका सहायक प्रबन्धक (असिस्टेन्ट म्यानेजर–एएम) समित शिलाकार हालै मात्र जनता बैङ्कको उपप्रबन्धक डेपुटी म्यानेजर)मा गए ।
– प्रभु बैङ्कबाट अनन्तराज काफ्ले जनता बैङ्कको ट्रेजरी र करेस्पोन्डिङ बैङ्किङ प्रमुखका रुपमा भित्रिए । प्रभुका वरिष्ठ अधिकृत एएमका रुपमा जनतामा गए ।
केही समययता एउटा बैङ्क छाडेर अर्को बैङ्कमा प्रवेश गर्ने प्रबन्धक तहको एउटा उदाहरण मात्रै हो । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाभित्र कर्मचारी खोसाखोसको स्थिति सिर्जना भएको छ । एउटा संस्थाको जुनियर कर्मचारीलाई अर्को संस्थाले एक वा दुई तह माथिल्लो पद र सेवासुविधा दिएर धमाधम कर्मचारी तान्ने गरेका छन् ।
हालै मात्र ग्लोबल बैङ्कबाट सुरेन्द्र प्रजापति सिनियर असिस्टेन्टमा जनता बैङ्क गए । त्यस्तै लक्ष्मी बैङ्कबाट ग्लोबल बैङ्क पुगेका महेश ढकाल सुपरभाइज पद लिएर कुमारी बैङ्क जाने अन्तिम तयारीमा छन् । सिभिल बैङ्कबाट टेकराज ओझा जुनियर अफिसरमा एनआईबीएल बैङ्क पुगे । त्यसैगरी कुमारी बैङ्कबाट अनिल खत्री सिनियर असिस्टेन्टमा ग्लोबल बैङ्क पुगे ।
बैङ्कले समान पदमा पनि उच्च सुविधासहित कर्मचारीहरु अर्काे संस्थाबाट भित्र्याउने गरेका छन् । कतिपय बैङ्कबाट त डेढ÷दुई सयसम्म कर्मचारी बाहिरिएको स्थिति छ ।
खासगरी नेपाल राष्ट्र बैङ्कले सबै गाउँपालिका र नगरपालिकाहरुमा वाणिज्य बैङ्कका शाखा पुग्नैपर्ने बाध्यात्मक व्यवस्था गरेर समयसीमा तोकिदिएपछि सानाठूला सबै पदका कर्मचारीको महत्व ह्वात्तै बढेको छ । कर्मचारी तालिमप्राप्त र अनुभवी हो कि होइन ? उसको क्षमता जिम्मेवारीअनुरुपमा छ कि छैन ? भन्ने हेरिँदैन । त्यहाँ फलानोले काम गरेको छ भन्ने आधारमा अर्को बैङ्कले कर्मचारी तान्ने प्रवृत्ति बढेको एक बैङ्कर बताउँछन् । ‘यसले आगामी दिनमा बैङ्क तथा वित्तीय संस्थामा संस्थागत सुशासनको प्रश्न खड्किने सम्भावना पनि देखिन्छ,’ उनले भने ।
मेगा बैङ्क नेपालका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेली असारभित्र धेरै स्थानमा बैङ्क शाखा खोल्नैपर्ने बाध्यताका बैङ्कका कर्मचारीहरु एउटाबाट अर्कोमा जाने प्रवृत्ति बढेको स्विकार्छिन् । ‘यस्तो अवस्था आउनु कर्मचारीहरुका लागि थप अवसर भए पनि बिनाक्षमताका कर्मचारीलाई बढी स्थान दिँदा त्यसले संस्थागत सुशासनमा समस्या ल्याउन सक्छ उनले भनिन्, ‘वित्तीय क्षेत्रमा अहिले एक प्रकारले कर्मचारी खोसाखोसको स्थिति छ ।’
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन विगतमा थोरै बैङ्क हुँदा कर्मचारी पनि थोरै नै भएको र अहिले एकैपटक धेरै बैङ्कले धेरै शाखा खोल्दा दक्ष कर्मचारी अपुग भएको बताउँछन् । ‘एकैपटक यसरी शाखा विस्तार गर्नुपर्ने कुनैपनि बैङ्कले नसोचेका कारण पनि कर्मचारी अभाव देखिएको हो,’ उनले भने । अहिले गाउँगाउँमा कर्मचारी पठाउनका लागि पनि अरु बैङ्कबाट जुनियर, सिनियर कर्मचारी तान्नुपर्ने बाध्यता रहेको उनले बताए ।
एकैपटक ३ सय ५९ शाखा खोल्नुपर्ने बाध्यताले कर्मचारी जुटाउन बैङ्कहरुलाई एकदमै गाह्रो भएको छ । अझ दुर्गम क्षेत्रमा त कर्मचारीको हाहाकारै छ भन्दा पनि हुन्छ । भलै दुर्गम क्षेत्रमा खटिने बैङ्कका कर्मचारीले थप सुविधाहरु पाउँछन् । स्थानीय तहमा शाखा खोल्दा स्थानीय व्यक्तिहरुलाई नै प्राथमिकता दिने रणनीति अँगालेका बैङ्कहरुले योग्यता तथा क्षमताअनुरुपको कर्मचारी नभेटिए बाहिरबाटै पठाउनुपर्ने हुन्छ । धेरैजसो कर्मचारी मर्जर भएका संस्थाबाट बाहिरिइरहेका छन् । खासगरी पुरानो संरचनामा क्रियाशील कर्मचारीहरु नयाँ अवस्थालाई सहज रुपले लिन नसक्दा बाहिरिने गरेका छन् ।
राष्ट्र बैङ्कले वाणिज्य बैङ्कका शाखा नपुगेका २ सय ४३ गाउँपालिका तथा नगरपालिकामा वैशाखभित्र र १ सय १६ गाउँपालिका तथा नगरपालिकामा असारभित्र शाखा खोल्नैपर्ने बाध्यतात्मक व्यवस्था गरेको छ । केही समय अघिसम्म वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एउटा संस्था छोडेर अर्को संस्थामा गएपछि सीईओकै मनोमानीमा पुरानै संस्थाका थप कर्मचारी भित्र्याउने प्रचलन थियो । यो प्रवृत्तिमा केही कमी आएकाले पछिल्लो समय व्यक्तिगत आधारमै प्रायः कर्मचारीहरु संस्था छनोट गर्ने क्रम बढेको छ । राष्ट्र बैङ्कले सिइओका हकमा ‘कुलिङ पिरियड’ कार्यान्वयनमा ल्याए पनि अन्य पदमा यस्तो स्थिति छैन । त्यसैले आज एउटा वित्तीय संस्थामा काम गरेर निस्किएको व्यक्ति भोलि भेट्दा अर्कै संस्थाको भइसक्छ ।