सार्वजनिक निजी साझेदारीमा दिगो स्वच्छ ऊर्जा कार्यक्रम

स्वच्छ ऊर्जा मानवीय स्वास्थ्यका लागि पनि आवश्यक भएको बताउँदै कार्यक्रमका वक्ताले स्वच्छ खाना पकाउने ऊर्जाको दिगो प्रयोगका लागि सामूहिक रुपमा सचेतना आवश्यक भएकोमा जोड दिए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र विनरक इन्टरनेसनलको संयुक्त आयोजना एवम् विश्व बैङ्क र इएसएमपीको आर्थिक सहयोगमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक निजी साझेदारीका माध्यमबाट दिगो स्वच्छ ऊर्जा कार्यक्रम प्रभावकारी बनाउन सकिनेमा जोड दिइएको छ ।

स्वच्छ ऊर्जा मानवीय स्वास्थ्यका लागि पनि आवश्यक भएको बताउँदै कार्यक्रमका वक्ताले स्वच्छ खाना पकाउने ऊर्जाको दिगो प्रयोगका लागि सामूहिक रुपमा सचेतना आवश्यक भएकोमा जोड दिए ।

कार्यक्रममा विनरक इन्टरनेसनलका निर्देशक बद्रीनाथ बरालले दिगोरुपमा स्वच्छ खाना पकाउने ऊर्जाको प्रवर्द्धन गर्नका साथै दिगो प्रयोगलाई बढावा दिन सार्वजनिक निजी साझेदारीका माध्यमबाट दिगो स्वच्छ ऊर्जा कार्यक्रम अघि सारिएको बताए ।

सङ्घीय संरचनालाई ध्यानमा राख्दै प्रभावकारी एवम् कुशल सेवा वितरणका लागि सार्वजनिक निजी साझेदारीमा केन्द्रित भई कार्यक्रमको संस्थागत मूल्याङ्कन गर्ने र सोसँग सम्बन्धित कार्यबारे छलफल गरिने उनले बताए ।

विश्व बैङ्कका स्वच्छ खाना पकाउने ऊर्जा कार्यक्रमका संयोजक शेखर शर्माले स्थानीय तहसँग सहकार्य गर्दै समुदायमा सचेतनामूलक कार्यक्रम गर्दै अघि बढ्न सकिनेमा जोड दिए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका इञ्जिनियर प्रकाश भण्डारीले देश सङ्घीय संरचनामा गइसकेका अवस्थामा नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि स्थानीय तह, प्रदेश र सङ्घबीचको सहकार्य र समन्वयका आधारमा अघि बढ्नु आवश्यक भएको बताए ।

अन्नपूर्ण गाउँपालिका, कास्कीका अध्यक्ष युवराज कुँवरले विशेष गरी ग्रामीण बस्तीमा स्वच्छ खाना पकाउने ऊर्जाको प्रवर्द्धन एवम् दिगो प्रयोग आवश्यक भए पनि त्यसका लागि सर्वप्रथम सचेतना नै अपरिहार्य भएको धारणा राखे ।

कार्यक्रममा भिमाद नगरपालिका तनहुँका अध्यक्ष मेखबहादुर थापा, शुक्लागण्डकी नगरपालिका, तनहुँका अध्यक्ष किसान गुरुङ, नबिल बैङ्क लेकसाइडका म्यानेजर सरिना श्रेष्ठलगायतले स्वच्छ खाना पकाउने ऊर्जाको प्रयोग मानिसको स्वास्थ्यका लागि पनि अपरिहार्य भएका कारण यसबारे जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । रासस