प्राइम कमर्सियल बैंक लिमिटेडको ६१ औं शाखा रसुवाको कालिका गाउँपालिका शुक्रबारदेखि सञ्चालनमा आएको छ । बैङ्कका सञ्चालक गजेन्द्र विष्टले एक समारोहबीच सो शाखाको उद्घाटन गरेका हुन् । यस क्षेत्रमा वाणिज्य बैङ्कहरुका शाखा नभएकोले बैङ्कले स्थानीय जनतालाई सहजरुपमा वित्तीय सेवा उपलब्ध गराउने जानकारी सो अवसरमा दिइयो ।
बैङ्कका शाखा प्रबन्धक विष्णुमणि अधिकारीका अनुसार यस क्षेत्रमा बैङ्कले चुस्त तथा सुलभरुपमा सेवा प्रवाह गर्ने छ । गाउँ गाउँमा छरिएर रहेको निक्षेप संकलनका साथै बैङ्कले व्यापार, कृषि, पशुपालन, सवारी साधन आदि क्षेत्रमा कर्जा प्रवाह गर्नेछ ।
बैङ्कले मुलुकका विभिन्न भागमा १५ ओटा भन्दा बढी शाखा खोल्ने योजना रहेको जानकारी दिइएको छ । सो अवसरमा दिइएको जानकारी अनुसार ८ अर्ब चुक्ता पुँजी रहेको यस बैंकले गत चैत मसान्तसम्ममा रु ७४ अर्ब भन्दा बढी निक्षेप संकलन गरी रु ६६ अर्बभन्दा बढी कर्जा प्रवाह गरिसकेको छ । सोही अवधिमा बैंकले रु १ अर्ब २५ करोडभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकले स्थापनाकालदेखि नै उत्पादनशील क्षेत्रमा प्राथमिकताका साथ कर्जा प्रवाह गरिरहेको जनाइएको छ ।