कुटनीति र विकासका लागि थिङ्क ट्याङ्क गठन

गैर नाफामूलक उक्त संस्थाले सरकारलाई गैरसरकारी बौद्धिक समूह (थिङ्क ट्याङ्क) का रुपमा सुझाव दिने अध्यक्षले श्रेष्ठले बताए ।

नेपालको कुटनीति र विकासका क्षेत्रमा काम गर्न फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा कुटनीति र विकास केन्द्र ‘सेन्टर फर डिप्लोम्यासी एन्ड डेभ्लपमेन्ट’ (सीडीडी) गठन गरिएको छ । गैर नाफामूलक उक्त संस्थाले सरकारलाई गैरसरकारी बौद्धिक समूह (थिङ्क ट्याङ्क) का रुपमा सुझाव दिने अध्यक्षले श्रेष्ठले बताए ।

उक्त संस्थामा सदस्यको रुपमा पूर्व परराष्ट्र सचिव तथा संयुक्त राष्ट्रसङ्घका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्य, पूर्वशिक्षा सचिव शङ्करप्रसाद पाण्डे, डा गङ्गाबहादुर थापा, अनिता जधारी, अरुण रञ्जित, हेमन्त कक्षपति, खेमराज लकाइ, नवराज पाण्डे, डा प्रमोद जैसवाल, श्रीराम लामिछाने, सुरेन्द्र शाक्य, शान्तिलक्ष्मी शाक्य र मित्रबन्धु पौडेल छन् ।

पूर्व राजदूत श्रेष्ठले संस्थाले बौद्धिक व्यक्तित्वबीच अन्तर्क्रिया बढाउने, आफ्ना अनुभवमा आधारित भएर सरकारलाई सुझाव दिने र यही क्षेत्रमा अध्ययन–अनुसन्धानलाई केन्द्रमा राखेर काम गर्ने उद्देश्यले संस्था स्थापना गरेको जानकारी गराए ।

संविधान निर्माण, यसको कार्यान्वयन र तीनै तहको निर्वाचन सम्पन्न भएका कारण राजनीतिक स्थिरता आएकाले अब विकासले प्राथमिकता पाउनुपर्ने बेलामा अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारका काममा आफ्नो संस्थाले सहयोग गर्ने पुर्याउने समेत अध्यक्ष श्रेष्ठले बताए ।