राष्ट्र बैङ्कको ६३औं वार्षिकोत्सव कार्यक्रममा उनले फाइल लुकाएर अराजकता मच्चाउन खोज्नेहरुलाई व्यवस्थापनले त्यसै नछाड्ने उद्घोष गरेका हुन् ।
नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कारबाहीका लागि तयार पारेर राखिएका फाइल लुकाउनेलाई कारबाही गर्ने दाबी गरेका छन् । राष्ट्र बैङ्कको ६३औं वार्षिकोत्सव कार्यक्रममा उनले फाइल लुकाएर अराजकता मच्चाउन खोज्नेहरुलाई व्यवस्थापनले त्यसै नछाड्ने उद्घोष गरेका हुन् ।
फाइल लुकाएको भनेर यसअघि समकक्षी डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई आरोप लाग्दै आएको छ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (हाल कैलाश विकास बैङ्क) अमृतचरण श्रेष्ठलाई फाइल लुकाएको आरोप लागेको छ । त्यसैगरी एनसीसी (तत्कालीन एपेक्स डेभलपमेन्ट बैङ्क) का सञ्चालकहरुलाई श्रेष्ठकै कारण कारबाही गर्न समस्या भएको बताउने गरिन्छ । एपेक्समा वित्तीय अराजकता भएपछि केही दिनअघि मात्रै केन्द्रीय बैङ्कले नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जिम्मा लगाएको थियो । त्यसपछि सीआईबीले २० जनाभन्दा बढीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । त्यसमा केन्द्रीय बैङ्कले डेढ अर्बभन्दा बढी घोटाला भएको जनाएको छ ।
डेपुटी गभर्नर शिवाकोटीको आक्रोशपूर्ण अभिव्यक्तिले वित्तीय क्षेत्रमा गलत अभ्यासहरु भइरहेको र केन्द्रीय बैङ्ककै उच्च अधिकारीहरु त्यसलाई जोगाउन कम्मर कसेर लागेको सङ्केत गर्छ । कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीले पोशाक लिने नलगाउने, गल्ती गर्नेलाई कारबाही गर्नुको सट्टा फाइल लुकाउने प्रवृत्ति मौलाएको भन्दै त्यस्ता क्रियाकलापलाई कुनै पनि मूल्यमा व्यवस्थापनले रोक्ने दाबी गरे । केन्द्रीय बैङ्कको आन्तरिक कुरा भएपनि डेपुटी गभर्नर सार्वजनिक कार्यक्रममा गलत क्रियाकलाप भइरहेको उजागर गरेका हुन् । वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न जोखिममा आधारित सुपरिवेक्षण तथा नियमन र वास्तविक समयमा फस्र्यौट गराउन केन्द्रीय बैङ्कले कुनै कसर बाँकी नराख्ने बताए ।
उनले केन्द्रीय बैङ्कमा कर्मचारी कटौती हुँदै जाँदा दैनिक कामकारबाही प्रभावित हुने अवस्था सिर्जना भएको बताए । ‘कुनै समय ४ हजार ३ सय कर्मचारी रहेको केन्द्रीय बैङ्कमा अहिले १ हजार ५० जना छन्’, उनले भने, ‘वैशाख र जेठमा थप ७४ जनाले अवकास पाउँदा ९ सय ७६ जनामा मात्र रहन्छन् ।’ तर, १ सय ५१ जना कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढेको पनि उनले बताए । कार्यक्रममा पूर्व गभर्नर गणेशबहादुर थापालाई विशेष सम्मान र नेपाली नोटको डिजाइन गरी अन्तर्राष्ट्रियस्तरमा ख्याति पाएको भन्दै डिजाइनर सुन्दर श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । त्यस अवसरमा ६५ जना कर्मचारीलाई २० वर्षे सेवा पदक दिइएको थियो ।