नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले राष्ट्र बैङ्कको ६३ औं वार्षिकोत्सव कार्यक्रममा चालू वर्ष नगद प्रवाहमा आधारित सरकारी बजेट घाटामा भएपनि बैशाख ७ गतेसम्म सरकारको पौने ३ खर्बभन्दा बढी रकम राष्ट्र बैङ्कसँग रहेको बताए ।
सरकारसँग २ खर्ब ७७ अर्ब ४७ करोड रुपैयाँ नगद मौज्दात छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले राष्ट्र बैङ्कको ६३ औं वार्षिकोत्सव कार्यक्रममा चालू वर्ष नगद प्रवाहमा आधारित सरकारी बजेट घाटामा भएपनि बैशाख ७ गतेसम्म सरकारको पौने ३ खर्बभन्दा बढी रकम राष्ट्र बैङ्कसँग रहेको बताए ।
राष्ट्र बैङ्कका अनुसार वैशाख ७ गतेसम्म नगद प्रवाहमा आधारित सरकारी बजेट १ खर्ब २५ अर्ब ५६ करोडले घाटामा छ । नगद प्रवाहमा आधारित कुल सरकारी खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५१.८ प्रतिशतले वृद्धि भई ६ खर्ब ६६ अर्ब ३१ करोड पुगेको छ । त्यसमध्ये चालू खर्च ४ खर्ब ६५ अर्ब ३० करोड अर्थात् बजेट अनुमानको ६३.२ प्रतिशत र पूँजीगत खर्च १ खर्ब १४ अर्ब १६ करोड अर्थात् बजेट अनुमानको ३४.७ प्रतिशत खर्च भएको छ । यसअवधिमा राजस्व परिचालन २०.८ प्रतिशतले वृद्धि भई ५ खर्ब १५ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।
कार्यक्रममा गभर्नर नेपालले आन्तरिक तथा वाह्य कारणले गर्दा मुद्रास्फीति (मूल्य वृद्धि)मा बेलाबखत केही दबाब झेलेपनि वार्षिक लक्ष्यभन्दा बढी नजाने बताए । चालू आर्थिक वर्षको ९ महिना (चैत)मा मूल्य वृद्धि ५.३ प्रतिशत छ । जबकि यस्तो मूल्यवृद्धि २०७३ चैतमा ३.८ प्रतिशत र गत फागुनमा ६ प्रतिशत पुगेको थियो ।
नेपालको विद्यमान लेखामानलाई अन्तर्राष्ट्रिय लेखामानको स्तरमा लैजान विकास गरिएको नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्यान्डर्ड (एनएफआरएस)अनुसार आर्थिक वर्ष २०७४/७५ देखि वित्तीय विवरण तयार गर्नुपर्ने गरी नीतिगत व्यवस्था गरिएको पनि उनले दाबी गरे । वित्तीय पहुँच र वित्तीय सेवाको उपयोग अध्ययन गर्न तयार गरिएको विद्युतीय नक्साङ्कनसम्बन्धी विवरण वेबसाइटमार्फत् सर्वसाधारणले समेत प्रयोग गर्न सक्ने गरी विकास गरिएको उनको भनाइ छ ।
स्थानीय तह, प्रदेश सभा र सङ्घीय संसदको निर्वाचन भई मुलुक राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको भन्दै गभर्नर नेपालले राजनीतिक स्थायीत्वसँगै ऊर्जा आपूर्तिमा भएको सुधार, पुनर्निर्माणले लिएको गति तथा सरकारको विकास र समृद्धिप्रतिको प्रतिबद्धताले लगानीमैत्री वातावरण निर्माण भएको दाबी गरे ।