उपत्यकाको रुट—२ नागढुङ्गादेखि धुलिखेलसम्म मेट्रो रेल सञ्चालन प्रक्रिया अगाडि बढाइँदै

लगानी बोर्डको शनिबार बसेको बैठकले धुलिखेलदेखि नागढुङ्गासम्मको मेट्रो रेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) का लागि बोलपत्र आह्वान गर्ने निर्णय भएको हो ।

उपत्यकाको रुट—२ नागढुङ्गा—कलङ्की—कोटेश्वर धुलिखेलमा मेट्रो रेल निर्माणका लागि प्रक्रिया अगाडि बढ्ने भएको छ । लगानी बोर्डको शनिबार बसेको बैठकले धुलिखेलदेखि नागढुङ्गासम्मको मेट्रो रेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) का लागि बोलपत्र आह्वान गर्ने निर्णय भएको हो ।

बैठकले आशयपत्रसम्बन्धी कागजपत्र स्वीकृत गर्दै सम्भाव्यता अध्ययनका लागि बोलपत्र आह्वान गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता तथा सूचना अधिकारी उत्तमभक्त वाग्लेले क्यापिटल नेपाललाई जानकारी दिए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको बैठकले उपत्यकामा नागढुङ्गादेखि धुलिखेलसम्म मेट्रो रेल निर्माण प्रक्रियाका लागि थप कागजात बनाई आशयपत्रका लागि बोलपत्र आह्वान गर्ने निर्णय भयो,’ उनले भने, ‘छनोट भएकालाई सम्भाव्यता अध्ययनको जिम्मा दिइने छ ।’ उपत्यकामा उक्त रुट—२ मा कुल ३७ किलोमिटरमा मेट्रो रेल सञ्चालनका लागि आशयपत्र माग गरिएको छ ।

बैठकले सरकारबाट ५ ओटा आयोजनाको सम्भाव्यता अध्ययनका लागि आशयपत्रसम्बन्धी कागजात स्वीकृत गरेको छ । त्यस्तैगरी अरुण—तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको समयसीमा आगामी असोजसम्म थप गरेको छ । बिरेठाँटीदेखि मुक्तिनाथसम्मको केबलकार आयोजना निर्माणका लागि मुक्तिनाथ दर्शन प्रालिलाई विस्तृत सम्भाव्यता अध्ययनका लागि स्वीकृत प्रदान गरेको छ ।