राष्ट्र बैङ्कका आगन्तुकलाई कालो ब्यानरले स्वागत !

डेपुटी गभर्नर शिवराज श्रेष्ठले ब्यानर लगाएको धेरै दिन नभएको र कार्यक्रम सुरु हुनुअघि नै निकाल्न सरोकारवाला पक्षलाई आग्रह गरे पनि नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घका पदाधिकारीले त्यसलाई सुनेको नसुनेझैं टारिदिए ।

नेपाल राष्ट्र बैङ्कको ६३औं वार्षिकोत्सव समारोहमा आगन्तुकलाई कालो ब्यानरले स्वागत गरिएको छ । पूर्वगभर्नरदेखि राष्ट्र बैङ्ककै पूर्वपदाधिकारी तथा कर्मचारी आउने समारोहमा भित्री मूल गेटमा कर्मचारीले आफ्ना माग पूरा नभएको भन्दै कालो ब्यानर तेस्र्याएका हुन् ।

डेपुटी गभर्नर शिवराज श्रेष्ठले ब्यानर लगाएको धेरै दिन नभएको र कार्यक्रम सुरु हुनुअघि नै निकाल्न सरोकारवाला पक्षलाई आग्रह गरे पनि नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घका पदाधिकारीले त्यसलाई सुनेको नसुनेझैं टारिदिए । सङ्घले गत माघ २३ गते भएको सहमति कार्यान्वयन नभएको भन्दै राष्ट्र बैङ्कको भित्री मूल गेटमा आफ्ना तीनबुँदे मागसहितको तुल टाँगेको हो । मूल भवनको अगाडिकै प्राङ्गणमा राष्ट्र बैङ्कले वार्षिकोत्सव समारोह मनाएको थियो ।

कर्मचारी सङ्घले झ्याङ्गिँदै गएको विकृति र विसङ्गति तत्काल अन्त्य गर्न माग गरेको छ । उसले कर्मचारीहरुलाई दिइने सरुवा, बढुवा तथा तालिमलगायतमा विभेद गरिएको उल्लेख गरेको छ । शुक्रबार मात्रै वार्षिकोत्सव समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैङ्कभित्र अध्ययन, अनुसन्धान र कारबाहीका लागि सिफारिस गरिएका फाइल हराउने गरेको उल्लेख गरेका थिए । उनले त्यस अवसरमा आउने दिनमा यस्ता गतिविधि नगर्न र अवाञ्च्छित गतिविधि गर्नेलाई सार्वजनिक रुपमै कारबाहीको धम्की दिएका थिए ।

विभिन्न मागका विषयमा गत माघमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै वार्षिकोत्सवको पूर्वसन्ध्यामै विभिन्न मागसहित तुल ब्यानर टाँग्ने परिस्थिति आउनु र त्यसलाई केही दिनका लागि पनि रोक्न नसक्नु केन्द्रीय बैङ्क व्यवस्थापनको असफलता हो । यसले केन्द्रीय बैङ्कको गैरजिम्मेवारीपनलाई प्रदर्शित गर्छ । कालो ब्यानरमा कर्मचारीका माग राखेर टाँगिनु केन्द्रीय बैङ्कका लागि नौलो भने होइन । यसअघिका वर्षमा पनि केन्द्रीय बैङ्क वार्षिकोत्सवको समयमा कर्मचारीहरुले आन्दोलन गर्ने तयारीस्वरुप विभिन्न माग राख्दै ब्यानर टाँगिएका हुन्थे । यस पटकको वार्षिकोत्सवमा पनि यस्तो दृश्यले निरन्तरता पाएको छ ।