उपल्लो डोल्पामा नेपाल टेलिकमको सेवा सुरु

डोल्पाको बुद्ध गाउँपालिकामा पर्ने उपल्लो डोल्पामा पहिलो पटक नेपाल टेलिकमको नमस्ते मोबाइल फोन सेवा सुरु भएपछि त्यहाँका बासिन्दाले मोबाइलबाट देश विदेशमा कुरा गर्न पाएका छन् ।

दुर्गम हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने धो बस्तीमा पहिलो पटक नेपाल टेलिकमको सेवा विस्तार भएको छ । डोल्पाको बुद्ध गाउँपालिकामा पर्ने उपल्लो डोल्पामा पहिलो पटक नेपाल टेलिकमको नमस्ते मोबाइल फोन सेवा सुरु भएपछि त्यहाँका बासिन्दाले मोबाइलबाट देश विदेशमा कुरा गर्न पाएका छन् ।

फोन सेवाको अभावमा वर्षौंदेखि सम्पर्कविहीन हुँदै आएको धोका बासिन्दा सञ्चार सुविधामा जोडिएपछि खुशी भएका छन् । धोमा नेपाल टेलीकमले माइक्रो विटियस नमस्ते टावर राखेसँगै वर्षौंदेखिको स्थानीयवासीको सपना साकार भएको दूरसञ्चार कार्यालयले जनाएको छ । माथिल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा पर्ने धो बस्तीमा माइक्रो बिटिएस जीएसएम मोबाइल टावर वैशाख ९ गतेदेखि सञ्चालनमा आएको हो ।

उक्त मोबाइल टावरबाट एक पटकमा १४ जनासम्मले मात्र कुरा गर्न सकिने टावर जडानका लागि डोल्पा पुगेका प्राविधिक खेमराजसिंह बोहोराले जानकारी दिए । पहिलो पटक माथिल्लो भोटमा परीक्षणका लागि पाँच अाेटामात्र च्यानल भएको रसियन (टाइम स्लोट) उपकरण जडान गरिएको हो । यो प्रविधि अत्यन्तै महँगो पर्ने बताइएको छ ।

उक्त टावरले धो, ताक्सीलगायत बस्तीको कुनाकुनासम्म नधान्ने तर थोरै भए पनि समस्या समाधान भएको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले बताए । जिल्लाको विकट क्षेत्र मानिने उपल्लो डोल्पा साल्दाङ, भिजेर, फोक्सुण्डो, छार्कालगायत दर्जनौँ बस्ती अझै पनि फोन सम्पर्कविहीन छन् ।

पूर्व शान्ति मन्त्री तथा वर्तमान सांसद सत्या पहाडीले उपल्लो डोल्पालाई सञ्चार पहुँचमा जोड्न विशेष पहल गरिरहेका छौँ, अब छिट्टै त्यहाँका गाउँबस्तीमा फोन सुविधा विस्तार गरेर जनतालाई घरआँगनबाटै विश्वसँग जोड्छाैं भने । रासस