बैङ्कको प्रतिशाखा ४ हजार ९ सय २८ जनालाई वित्तीय सेवा

वाणिज्य बैङ्कहरुले शाखा नपुगेका २ सय ४३ स्थानीय तहमा वैशाखभित्र र १ सय १६ स्थानीय तहमा असारभित्र शाखा खोलिसक्नुपर्ने बाध्यकारी व्यवस्था केन्द्रीय बैङ्कले गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले एक वर्षको अवधिमा बैङ्क तथा वित्तीय संस्थाको शाखा सञ्जालमा तीव्र विस्तार भई वित्तीय सेवा विस्तार भएको जनाएको छ । २०७४ चैतसम्म ५ हजार ८ सय ४८ वित्तीय संस्थाका शाखा सञ्चालनमा आउँदा प्रति ४ हजार ९ सय २८ जनालाई एउटा शाखाले वित्तीय सेवा दिएको हो । राष्ट्र बैङ्कका अनुसार २०७३ चैतमा ४ हजार ७ सय ५० शाखा रहेकोमा एक वर्षको अवधिमा २३.१ प्रतिशतले विस्तारमा वृद्धि भएको हो । २०७३ चैतमा प्रतिशाखा ५ हजार ९ सय ८६ जनाले वित्तीय सेवा पाएका थिए ।

प्राप्त विवरणअनुसार चैतसम्म वाणिज्य बैङ्कका २ हजार ५ सय ८४, विकास बैङ्कका ९ सय ८, वित्त कम्पनीको १ सय ८१ र लघुवित्त वित्तीय संस्थाहरुको २ हजार १ सय ७५ शाखा सञ्चालनमा छन् । नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कका शाखा नपुगेका सबै स्थानीय तहमा सीमा र स्थान तोकेरै जान वाणिज्य बैङ्कलाई निर्देशन दिइसकेको छ । यसले आगामी असारसम्म बैङ्क शाखा विस्तारमा अझ बढोत्तरी हुनेछ भने सबै स्थानीय तहमा बैङ्कहरु पुग्दा वित्तीय पहुँच पनि विस्तार हुनेछ ।

वाणिज्य बैङ्कहरुले शाखा नपुगेका २ सय ४३ स्थानीय तहमा वैशाखभित्र र १ सय १६ स्थानीय तहमा असारभित्र शाखा खोलिसक्नुपर्ने बाध्यकारी व्यवस्था केन्द्रीय बैङ्कले गरेको छ । यस अवधिमा २ करोड १४ लाख ९८ हजार ९ सय ३ ओटा निक्षेप खाता सञ्चालनमा छ भने १२ लाख ६९ हजार २ सय २० ओटा ऋणी खाता सञ्चालनमा छ । त्यसैगरी २ हजार ६ सय ३८ ओटा एटीएम काउन्टर रहेकोमा ५७ लाख ६९ हजार १ सय २८ ओटा डेबिट कार्ड प्रयोगमा आएको छ । तर, डेबिबट कार्डको तुलनामा क्रेडिट कार्डको प्रयोग भने अत्यन्तै न्यून छ ।

यस अवधिमा ९४ हजार ७ सय १६ ओटा क्रेडि कार्ड मात्रै प्रचलनमा छन् । त्यसैगरी १ लाख १९ हजार ६ सय ४३ ओटा प्रिपेड कार्ड प्रचलनमा ल्याइएको छ । बैङ्क तथा वित्तीय संस्थाका ३५ लाख ३० हजार २ सय २७ ग्राहकले मोबाईल बैङ्किङ प्रयोग गर्ने गरेका छन् भने ८ लाख ४२ हजार ४ सय ४१ ग्राहकले इन्टरनेट बैङ्किङ सुविधा प्रयोग गर्ने गरेका छन् । उपलब्ध तथ्याङ्कहरुले ग्राहकहरु प्रविधिमैत्री हुँदै गएको देखाउँछ ।

वित्तीय पहुँच कम भएका र बैङ्क शाखाले वित्तीय सेवा नदिएका स्थानमा शाखारहित बैङ्किङ अवधारणा अगाडि बढेको छ । राष्ट्र बैङ्कले यसअवधिमा शाखारहित बैङ्किङ सेवा काउन्टर १ हजार २ सय ७३ खुलेको र त्यहाँबाट १ लाख ६० हजार ९ सय ६४ ग्राहकले वित्तीय सेवा लिइरहेका छन् ।