गलत गरे मैले पनि छुट्कारा पाउँदिनँ : अर्थमन्त्री खतिवडा

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कमा सरकारी स्वामित्वको एनआईडीसी डेभलपमेन्ट बैङक गाभिएपछि एकीकृत बैङ्किङ कारोबार शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व गभर्नरसमेत रहेका अर्थमन्त्री खतिवडाले राम्रो काम नगरे केन्द्रीय बैङ्कका नेतृत्व कारबाहीको भागीदार बन्ने चेतावनी दिएका हुन् ।

अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैङ्कभन्दा माथि अधिकार लिएर सरकार बसेको भन्दै केन्द्रीय बैङ्कले आफ्नो मनोमानी ढङ्गले चल्न खोजे नछाडिने चेतावनी दिएका छन् ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कमा सरकारी स्वामित्वको एनआईडीसी डेभलपमेन्ट बैङक गाभिएपछि एकीकृत बैङ्किङ कारोबार शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व गभर्नरसमेत रहेका अर्थमन्त्री खतिवडाले राम्रो काम नगरे केन्द्रीय बैङ्कका नेतृत्व कारबाहीको भागीदार बन्ने चेतावनी दिएका हुन् ।

बैङ्क तथा वित्तीय संस्थाको अनुगमनको फाइल लुकाउने, यथार्थ विवरण नदिई वित्तीय अराजकता मच्चाउन खोज्नेहरुलार्इ कारबाही नभए त्यसको भागीदार नेतृत्व हुने भन्दै उनले गभर्नर डा चिरञ्जीवी नेपालको ध्यानाकर्षण गराएका हुन् । ‘केन्द्रीय बैङ्कलाई मात्र होइन, नराम्रो काम गरे मलाई पनि कारबाही गर्ने निकाय छन्’ उनले भने, ‘स्थलगत निरीक्षण बढाउनुस्, फाइल लुकाउने कर्मचारीलाई कारबाही गरी वित्तीय प्रणालीमा आघात पु¥याउनेलाई उन्मुक्ति नदिनुस् ।’

गत बैशाख १४ गते नेपाल राष्ट्र बैङ्कको ६३ औं वार्षिकोत्सव कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केन्द्रीय बैङ्कका कर्मचारीलाई फाइल लुकाउन शोभनीय नहुने भन्दै फाइल लुकाउनेलाई कारबाही गरेरै छाड्ने दृढता प्रकट गरेका थिए । वित्तीय प्रणाली चक्रीय जोखिममा फसेको मात्र नभई अर्थतन्त्रमै चक्रीय जोखिमहरु आउनेतर्फ सङ्केत गर्दै उनले जसरी जोखिम आएपनि त्यसको समाधानका लागि केन्द्रीय बैङ्कले चनाखो भएर काम गर्नुपर्नेमा जोड दिए ।

अर्थसचिव डा राजन खनाल र राजश्व सचिव शिशिरकुमार ढुङ्गानालाई दायाँबायाँ राखेर उनले विगतमा आफूले केन्द्रीय बैङ्कमा गरेका सुधारका कारण अहिले वित्तीय प्रणाली राम्रो हुँदै गएको बताए । अलिकति ठिक हुँदैछौँ भनेर केही खुकुलो गरे मात्रै पनि समस्या फेरि बढ्न सक्नेतर्फ औंल्याउँदै उनले नराम्रो गर्नेलाई राष्ट्र बैङ्कले कानुनी दायरामा ल्याउनु पर्नेमा जोड दिए । उनले राष्ट्र बैङ्क पछिल्लो समय कमजोर बन्दै गएको समेत दाबी गरे ।

केन्द्रीय बैङ्कका तर्फबाट कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटी उपस्थित थिए ।