कृषिक्षेत्रमा दुई अर्बभन्दा बढी लगानी थपियो

गत आवको १० महिनासम्म १८ ओटा कम्पनी दर्ता भएकोमा चालू आवमा भने १५ ओटामा आएको विभागको तथ्याङ्क छ । हालसम्म दर्ता भएका सानाठूला उद्योगमा करिब तीन सय ५० जनाभन्दा बढी कामदारले रोजगारीको अवसर पाउँछन् ।

नेपालमा कृषिजन्य क्षेत्रमा दुई अर्ब रुपैयाँभन्दा बढी लगानी थपिएको छ । उद्योग विभागकोे पछिल्लो तथ्याङ्कअनुसार साना, मझौला र ठूला उद्योगमा स्वदेशी तथा विदेशी कम्पनीले दुई अर्ब १३ करोड दुई लाख लगानीका उद्योग थपिएका हुन् ।

कृषिक्षेत्रमा रहेका १५ कम्पनीमध्ये विदेशी ११ कम्पनीमा एक अर्ब ८३ करोड तीन लाख रुपैयाँ लगानी भएको विभागका सूचना अधिकृत दुर्गाप्रसाद भुसालले जानकारी दिए । ‘पछिल्लो समय कृषिक्षेत्रमा लगानी गर्नेको सङ्ख्या केही घटेको छ,’ उनले भने ।
गत आवको १० महिनासम्म १८ ओटा कम्पनी दर्ता भएकोमा चालू आवमा भने १५ ओटामा आएको विभागको तथ्याङ्क छ ।

हालसम्म दर्ता भएका सानाठूला उद्योगमा करिब तीन सय ५० जनाभन्दा बढी कामदारले रोजगारीको अवसर पाउने उनको भनाइ छ । विभागमा दर्ता भएका ठूलादेखि साना उद्योगको स्थिर पुँजी दुई अर्ब ७८ लाख छ । त्यस्तै उनीहरुको कार्य सञ्चालन पुँजी ५४ लाख छ ।

कृषिक्षेत्रमा दर्ता भएका १५ कम्पनीमध्ये ११ वैदेशिकतर्फ एक अर्ब ८७ करोड रुपैयाँ रकम प्रतिबद्धता आएको छ । यसमध्ये अर्मा एग्रो फार्म प्रालिमा १५ लाख लगानी प्रतिबद्धता आएको छ । सोनोङ हर्बाे मेडिसिन प्रोटेक्सन प्रालिमा एक अर्ब ७६ करोड, फाइकस बायोटेकमा २४ लाख, दूधपोखरी अग्र्यानिक फर्ममा पाँच लाख, पियोर मानायुर प्रालिमा पाँच लाख, एग्रो जापोनिक कम्पनीमा पाँच लाख, दिदिगो ग्रीन प्रालिमा १० लाख, एफएनएफ एग्रिकल्चर प्रालिमा पाँच लाख, गणेश हिलिङ गार्डेनमा पाँच लाख र इच स्टार फार्मिङमा १५ लाख रुपैयाँ लगानी प्रतिबद्धतासहित विभागमा दर्ता भएका छन् ।

त्यसैगरी ह्वाइट हिमालय एग्रोमा ४९ लाख, जङ्गली अग्र्यानिक फार्ममा ७५ लाख, नुवाकोट शीत भण्डारमा २१ करोड ६ लाख, पोखरा जुनकीरी गार्डेनमा ५२ लाख र हिमालय फार्मस प्रालिमा ६ लाख रुपैयाँ लगानी गरेका छन् ।