एयरपोर्टको ‘फुड एण्ड बेभरेज’को मूल्य १० प्रतिशत घट्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र राखिएको ‘फुड एण्ड बेभरेज’को मूल्य १० प्रतिशत घटेको छ । एयरपोर्ट भित्र राखिएको ‘फुड एण्ड बेभरेज’को मूल्य अत्यधिक महँगो भएको गुनासो बढे पछि विमानस्थलले हस्तक्षेप गरि मूल्य घटाएको हो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले आजबाटै लागू हुने गरी मूल्य घटाएको जानकारी दिए । ‘एयरपोर्टभित्र राखिएको सामग्रीको मूल्य अत्यधिक भएको गुनासो पटक–पटक आएपछि पसल सञ्चालकलाई बोलाएर १० प्रतिशत घटाउन निर्देशन दिएका छौ’ क्षेत्रीले भने ।
एयरपोर्टभित्र राखिएका खानेकुरा अत्यधिक महँगो हुँदा बैदेशिक रोजगारीमा जाने नेपालीहरु, बैदेशिक रोजगारीबाट फर्किएकाहरु र विभिन्न देशका पर्यटकहरु समस्यामा परेका थिए ।

राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले विमानस्थल भित्रका पसलमा १० प्रतिशत मूल्य घट्दा पनि केही राहत भएको बताए । ‘उपभोक्ताले एमआरपीमै सामान पाउनुपर्छ भन्ने हो,’ उनले भने, ‘यसैगरी मूल्य घटाएरै भए पनि उपभोक्तालाई राहत दिन्छ ।’

एयरपोर्टका व्यापारीले मनोमानी रुपमा मूल्य लिइरहे पछि विमानस्थलका महाप्रवन्धक क्षेत्रले ठूलो दबाब दिएर मूल्य घटाएका हुन् । उपभोक्ताबादी संस्थाहरुले यस अघि नै पटक–पटक मूल्य घटाउन निरन्तर दबाब दिँदै आएका थिए । तर, सरकारले कुनै चासो दिएको थिएन ।

अध्यक्ष तिमिल्सेनाका अनुसार सामग्रीमा उल्लेख गरेको मूल्य भन्दा बढी लिए कानुनी उपचार गर्न सकिन्छ । तर, सरकार यसमा उदासिन देखिएको हो ।