नयाँ उद्योगमा १८ हजारभन्दा बढीलाई नयाँ रोजगारी

विभागका सूचना अधिकृत दुर्गाप्रसाद भूषालले उद्योग दर्ता हुने क्रम बढेका कारण नेपालमा सो सङ्ख्यामा रोजागारीको अवसर भएको जानकारी दिए ।

उद्योग क्षेत्रमा थप १८ हजार ९ सय दुई जना कामदारले रोजगारी पाउने भएका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामै तीन सय दुई उद्योग दर्ता गरेका उद्योगीले उक्त सङ्ख्यामा रोजगारी उपलब्ध गराउन लागेका हुन् ।

विभागका सूचना अधिकृत दुर्गाप्रसाद भूषालले उद्योग दर्ता हुने क्रम बढेका कारण नेपालमा सो सङ्ख्यामा रोजागारीको अवसर भएको जानकारी दिए ।

उनले नेपालमा अहिले पर्यटन क्षेत्रमा आधारित उद्योगबाट बढी प्रतिबद्धता आएकाले पनि पर्यटन क्षेत्रमा रोजगारीको अवसर प्रशस्त रहेको बताए । विशेषगरी पर्यटन क्षेत्रको प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले नेपालमा अहिले होटल, रेष्टुरेन्ट, रिसोर्ट बनाउन लगानीकर्ता इच्छुक भएको उनको भनाइ छ ।

विभागको तथ्याङ्कमा अहिलेसम्म पर्यटन क्षेत्रमा दर्ता भएका ८६ उद्योगमा तीन हजार दुई सय ५८ जनाले रोजगारीको अवसर पाउने भएका छन् ।

त्यस्तै सेवामूलक क्षेत्रका कुल ६७ ओटा उद्योगमा दुई हजार आठ सय ८८ जना नेपाली कामदारहरुलाई रोजगार सिर्जना हुने विभागको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी विभागमा दर्ता भएका उद्योगहरु क्रमशः खनिज क्षेत्रका तीन उद्योगमा पाँच सय २०, सूचना प्रसारण तथा सञ्चार प्रविधिका १५ उद्योगमा सात सय ५८ तथा विद्युत् एवम् ऊर्जामूूलक क्षेत्रभित्र रहेका २६ उद्योगमा एक हजार ६ सय आठ जना कामदारले रोजगारीको अवसर पाउने उद्योग विभागको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी, निमार्ण क्षेत्रका तीन उद्योगमा दुई सय २८ जना र कृषिजन्य क्षेत्रमा रहेका १५ उद्योगमा तीन सय ५१ जना नेपाली कामदारले रोजगारीको अवसर पाउने विभागले जानकारी दिएको छ ।

विभागका वैदेशिक शाखाका उपनिर्देशक गजेन्द्र बस्नेतका अनुसार वैदेशिक लगानीमा दर्ता भएका कुल एक सय ९४ उद्योगमा सात हजार पाँच सय ४१ कामदारले रोजगारीका अवसर पाउने जानकारी गराए । उनका अनुसार वैदेशिक लगानीमा रहेका कुल एक सय ९४ उद्योगमध्ये ६० ओटा पर्यटन क्षेत्रकै उद्योग छन् । पर्यटन क्षेत्रका ६० उद्योगमा कुल एक हजार आठ सय दस कामदारले रोजगारी पाउने विभागको भनाइ छ ।

विभागका अनुसार वैदेशिक लगानीका उद्योगमा सात हजार पाँच सय ४१ जनाले रोजगार पाउने छन् भने स्वदेशी लगानीका उद्योगमा ११ हजार तीन सय ६१ जनाले रोजगारीको अवसर पाउने छन् ।

गत आर्थिक वर्षको तुलनामा चालू आवको आठ महिनामा नेपाली कामदारले रोजगारी पाउनेको सङ्ख्या बढेको छ । गत आवको आठ महिनामा १४ हजार दुई सय ६४ ले रोजगारीको अवसर पाएका थिए भने चालू आवको सोही अवधिमा १८ हजार नौं सय दूई कामदारले रोजगारीको अवसर पाउने छन् । यो सङ्ख्या गत आवको तुलनामा चार हजार ६ सय ३८ ले बढी हो ।