भारतबाट दैनिक ५ करोडभन्दा बढीको विद्युत् आयात

नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले भारतबाट ४ सय ५० मेगावाट विद्युत् आयात भइरहेको छ ।

भारतबाट दैनिक ५ करोड ७ लाख रुपैयाँभन्दा बढीको विद्युत् आयात हुँदै आएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले भारतबाट ४ सय ५० मेगावाट विद्युत् आयात भइरहेको छ । सरकारले औद्योगिक क्षेत्रमा रहेको ३ घण्टाको लोडसेडिङ अन्त्य भएको बताइरहँदा विद्युत् आयातमा भारतसँग निर्भर हुनुपर्ने बाध्यता हटेको छैन ।

आर्थिक वर्ष सकिन २ महिना बाँकी रहँदा १५ अर्ब २० करोड रुपैयाँको विद्युत् आयात भइसकेको ऊर्जा मन्त्रालयले जनाएको छ । बाँकी २ महिनामा ३ अर्ब रुपैँयाको विद्युत् आयात भई चालू आर्थिक वर्षभित्र झन्डै १८ अर्ब २५ करोड रुपैयाँ बराबरको विद्युत् आयात हुने देखिएको छ । ३ वर्षभित्र ३ हजार, ५ वर्षभित्र ५ हजार र १० वर्षभित्र १५ हजार विद्युत् आयोजनाहरु निर्माण गरी सञ्चालन गर्ने सरकारी लक्ष्य छ । तर, प्रसारण लाइनमा देखिएको ढिलाइले लक्ष्य हासिल गर्न कठिन देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले केही दिन अगाडि सार्वजनिक गरेको श्वेतपत्रमा आगामी ३ वर्षमा देशलाई विद्युत्मा आत्मनिर्भर बनाउने लक्ष्य छ । ५ वर्षभित्र हरेक जनताका घर—घरमा बिजुली पु¥याउने सरकारी लक्ष्य छ ।

त्यसका लागि प्रसारण लाइन निर्माणमा ढिलाइ हुन नहुने ऊर्जाविज्ञ बताउँछन् । सरकारी लक्ष्य हासिल गर्न र मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउन प्रसारण लाइन निर्माणलाई युद्धस्तरमा अगाडि बढाउनुपर्ने ऊर्जाविज्ञ ज्ञानेन्द्रलाल प्रधान बताउँछन् । ‘भारतीय विद्युत् आयातभन्दा नेपालकै जलविद्युत् आयोजना निर्माणलाई अगाडि बढाउनु पर्छ,’ उनले भने, ‘त्यसका लागि मुख्यतः प्रसारण लाइन निर्माणमा सरकार कडा बन्नुपर्छ । नभए लक्ष्य पूरा हुन सक्दैन ।’

भारतीय विद्युत् आयातलाई एक वर्षभित्र घटाउन सम्भव हुने ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए । ‘भारतीय बिजुलीको आयात घटाउन हाम्रो आन्तरिक उत्पादन बढाउनुपर्छ,’ उनले भने, ‘विद्युतमा आत्मनिर्भर बन्न गाह्रो छैन । एक वर्षमा आयात घटाउन सम्भव छ ।’ उनले सरकारले आगामी आर्थिक वर्षमा प्रसारण लाइनलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको बताए ।

देशमा एक वर्षभित्र हजारभन्दा बढी मेगावाट क्षमताका विद्युत आयोजनाहरु निर्माणको चरणमा छन् । तर, प्रसारण लाइन नबन्दा आयोजनाहरुले उत्पादन गर्ने मिति सार्दै जान थालेका छन् ।

अहिले भारतबाट आयात हुने विद्युत विभिन्न क्रस बोर्डरको प्रसारण लाइन हुँदै आएको छ । ढल्केबर—मुजफ्फरपुर प्रसारण लाइनबाट अहिले सयभन्दा बढी मेगावाट विद्युत् आयात भइरहेको प्राधिकरणले जनाएको छ ।