प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही

यातायात व्यवस्था विभागमा १० हजार छ सय ट्याक्सी दर्ता भए पनि आठ हजार एक सय ट्याक्सीमा मात्र प्रिन्टर मेसिन जडान गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही गरेको छ ।

लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही गरेको हो । यातायात व्यवस्था विभागमा १० हजार छ सय ट्याक्सी दर्ता भए पनि आठ हजार एक सय ट्याक्सीमा मात्र प्रिन्टर मेसिन जडान गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । “दुई हजार ५ सय ट्याक्सीले अहिलेसम्म प्रिन्टर मेसिन जडान गरेका छैनन्, उक्त ट्याक्सीमाथि छानबिन गरिरहेका छौँ,”– उनले भने ।

विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग मिलेर आइतबारदेखि कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रिन्टर मेसिन जडान नगरेको, नवीकरण नभएको तथा मिटरमा हिँड्न नमान्ने एक सय १९ ट्याक्सीलाई आइतबार कारबाही गरिएको महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले बताए ।

यसैगरी ट्राफिक महाशाखाले यात्रु ठग्ने ट्याक्सीलाई लक्ष्य गरेर कारबाहीको जनशक्तिसमेत बढाएको छ । पहिले १५/२० जना जनशक्ति खटाउने गरेकोमा अहिले ४० जना जनशक्ति खटाएको महाशाखाले जनाएको छ । रासस