मयूरका थप २४ बस आगामी शुक्रबारदेखि नयाँ रुटमा

रत्नपार्कदेखि बनेपा धुलिखेलसम्म र चक्रपथमा सेवा दिँदै आएको मयूरले अब रत्नपार्क–कलङ्की–थानकोट तथा अन्य ठाउँमा सेवा दिने भएको हो । कम्पनीले अशक्त तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिँदै आएको छ ।

मयूर यातायात प्रालिले उपत्यकामा आगामी शुक्रबारदेखि थप सेवा सञ्चालन गर्ने भएको छ । रत्नपार्कदेखि बनेपा धुलिखेलसम्म र चक्रपथमा सेवा दिँदै आएको मयूरले अब रत्नपार्क–कलङ्की–थानकोट तथा अन्य ठाउँमा सेवा दिने भएको हो ।

जेठ पहिलो साता नै उक्त बस सञ्चालनमा ल्याउने तयारी भए पनि कलरिङ, ग्यारेजको समस्याका कारण सञ्चालनमा ल्याउन केही ढिलाइ भएको मयूर यातायात प्रालिक अध्यक्ष मोहन श्रेष्ठले बताए । अहिले मयूर यातायात राख्न ग्यारेजको समस्या भइरहेको उनको भनाइ छ । बनाउन दिइएको कम्पनीबाट नै फरक रङमा बस नेपाल आएकाले समय लागेको उनले बताए । ‘अहिले सञ्चालनमा आउने २४ बसमा रङरोगनको काम हुँदै छ,’ उनले भने ।

बसहरुको खरिद मूल्य भुक्तानी भई काठमाडौं आइसकेको उनले जानकारी दिए । ‘४२ सिट क्षमता भएका बस ५२ लाख र ३७ सिट भएका बस ४४ लाख रुपैयाँमा खरिद गरेका हौं,’ श्रेष्ठले भने, ‘यसपछि थप ४५ ओटा बस सञ्चालन गर्ने योजना छ ।’ नयाँ बस चक्रपथ, रत्नपार्क, त्रिपुरेश्वर, टेकु, कालिमाटी, कलङ्की थानकोट रुटमा चल्नेछन् । अहिले मयूर यातायातका २४ ओटा बसले उपत्यकावासीलाई सेवा दिइरहेका छन् भने अब २४ नयाँ बस थप्दा बसको सङ्ख्या ४८ पुग्नेछ ।

अबको केही महिनाभित्र उपत्यकामा मात्र नभई राजधानीबाहिर पनि मयूर यातायात सञ्चालन गर्ने कम्पनीको योजना रहेको श्रेष्ठले बताए । ‘अबको केही महिनाभित्र काठमाडौंदेखि खुर्कोट, रामेछाप, ओखलढुङ्गा आदि ठाउँमा पनि सेवा दिन लागेका छौं,’ उनले भने । कम्पनीले अशक्त तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिँदै आएको छ ।