विद्युतीय चुहावट रोक्न अन्डरग्राउन्ड वितरण प्रणाली सुरु

उपत्यकाभित्र घनाबस्ती र गुचुमुक्क परेर बनेका भवनहरुमा बढेको विद्युत्तीय चोरी, हुकिङ्ग र खुला रुपमा विस्तार गरिएका विद्युत्तीय तारका कारण बर्सेनी विद्युत्तीय दुर्घटनाको जोखिम हुने गरेकाले जमिनमुनी तार बिच्छ्याएर वितरण प्रणाली सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

विद्युत्तीय चुहावट रोक्न अन्डरग्राउन्ड वितरण प्रणाली सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट रोक्न र विद्युत्तीय जोखिम कम गर्न यस्तो प्रणाली लागू गर्ने भएको हो ।

उपत्यकाभित्र घनाबस्ती र गुचुमुक्क परेर बनेका भवनहरुमा बढेको विद्युत्तीय चोरी, हुकिङ्ग र खुला रुपमा विस्तार गरिएका विद्युत्तीय तारका कारण बर्सेनी विद्युत्तीय दुर्घटनाको जोखिम हुने गरेकाले जमिनमुनी तार बिच्छ्याएर वितरण प्रणाली सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । उनले काठमाडौँ उपत्यकामा पाइलट प्रोजेक्टको काम अगाडि बढिसकेको बताए । ‘विद्युत्त् चुहावट रोक्न अन्डरग्राउन्ड विद्युत्तीय वितरण प्रणाली सुरु गर्दैछौँ,’ उनले भने, ‘अहिले पाइलट प्रोजेक्ट र नेटवर्क विस्तारको काम अगाडि बढाइएको छ ।’

पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण प्रणालीले ओगट्ने क्षेत्रमा अन्डरग्राउन्ड वितरण प्रणालीको प्रक्रिया अघि बढिसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

एसियाली विकास बैङ्कले उपत्यकाभित्रको सौन्दर्यता र विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । सरकारले पनि उपत्यकाभित्र रहेको विद्युत्तीय तार, केबल र विभिन्न प्रसारण नेटवर्कका तारका कारण सहर कुरुप र जोखिम बढ्ने देखेर त्यस्ता तारलाई अन्डरग्राउन्ड गर्न निर्देशन दिएको थियो । पछिल्लो समय काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रभित्र बनेका बाक्ला बस्तीमा विद्युत् चोरी हुने गरेको छ ।
चालू आर्थिक वर्ष २०७४/०७५ को फागुन मसान्तसम्म विद्युत् व्यवस्थापन तथा चुहावट नियन्त्रणमा उल्लेखनीय सुधार हुँदै गएको छ ।

देशमा लोडसेडिङ अन्त्य भएको छ । सो अवधिमा विद्युत् चुहावट समग्रमा २ दशमलव ७ प्रतिशतले कमी आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।