पछिल्लो श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा बेरोजगारी दर २ दशमलव ३ र अर्धबेरोजगारी दर ३० प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै युवा बेरोजगारी दर ३५ दशमलव ८ प्रतिशत छ । हाल दैनिक करिब एक हजार नेपाली युवा वैदेशीक रोजगारीको सिलसिलामा बिदेसिने गरेका छन् ।
नेपालबाट रोजगारीको सिलसिलामा बाहिरिने नेपाली कामदार ७४ दशमलव ५ प्रतिशत अदक्ष रहेको पाइएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेकोे २०७४/०७५ को आर्थिक सर्वक्षणले उक्त तथ्याङ्क देखाएको हो । नेपालबाट करिब ४३ लाख युवा औपचारिक तथा अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये दक्ष कामदार १ दशमलव ५ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र अदक्ष ७४ दशमलव ५ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।
संस्थागत रुपमा एक सय १० ओटा देशहरुलाई वैदेशिक रोजगारीका लागि खुला गरिएको रहेको छ । व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा भने एक सय ६७ भन्दा बढी देशमा खुला छ । नेपालबाट रोजगारीको सिलसिलामा जाने नेपाली कामदार दक्ष बनाई पठाउन कार्ययोजना बनाउन लागिएको वैदेशिक रोजगार विभागका सहसचिव कृष्ण ज्ञवालीले बताए । सरकारले विगतमा कुनै पनि क्षेत्रबाट अदक्ष कामदारलाई उचित किसिमको तालिम दिन नसकेको र अहिलेको सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीपमूलक तालिम दिई दक्ष बनाई पठाउने उनको भनाइ छ ।
अहिले पनि नेपालबाट दैनिक हजारौं युवा बिनातालिम रोजगारीको खोजीमा बिदेसिने गरेका छन् । उक्त समस्यालाई सरकार तथा स्थानीय निकायबाटै समाधान गर्ने योजना बनाएको ज्ञवालीले बताए । अब श्रम रोजगार मन्त्रालय तथा अन्य रोजगारसँग संलग्न निकायको सहकार्यमा विभिन्न क्षेत्रगत अवलोकन गरी तालिम केन्द्र स्थापना गरी अगामी दिनमा रोजगारीको खोजीमा जाने युवालाई दक्ष जनशक्ति बनाएर पठाउनेमा सरकार सकारात्मक रहेको उनले दाबी गरे ।
पछिल्लो श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा बेरोजगारी दर २ दशमलव ३ र अर्धबेरोजगारी दर ३० प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै युवा बेरोजगारी दर ३५ दशमलव ८ प्रतिशत छ । हाल दैनिक करिब एक हजार नेपाली युवा वैदेशीक रोजगारीको सिलसिलामा बिदेसिने गरेका छन् ।
रोजगार सूचना केन्द्रमार्फत आर्थिक वर्ष २०७३/०७४ मा १७ हजार तीन सय १८ जनाको बेरोजगार लगत सङ्कलन गरिएकोमा चालू आवको आठ महिनामा सो सङ्ख्या सात हजार तीन सय २१ छ । आर्थिक बर्ष २०७४/७५ को ८ महिनामा एक सय ६६ को सङ्ख्यमा श्रम विवाद समाधान गरिएको छ । गत आवमा सो सङ्ख्या दुई सय १३ थियो ।
आठ महिनामा तीन हजार पाँच सय ९ जना महिला र ९ हजार पाँच सय ५० जना पुरुष गरी १३ हजार ५९ जनाले सीप विकाससम्बन्धी तालिम प्राप्त गरेका छन् । तथ्याङ्कअनुसार गत आवमा २० हजार ६६ थियो ।