नयाँ उद्योगलाई विद्युत् नै दिँदैन प्राधिकरण

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ उद्योगलाई विद्युत् उपलब्ध गरानुपूर्व सबस्टेसन लाइन निर्माण गर्नुपर्ने भएकाले अहिले त्यसको काम भइरहेको बताए ।

अर्बौ रुपैयाँ लगानी गरेर उद्योग स्थापना गरे पनि नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपलब्ध नगराउँदा लगानी जोखिममा परेको छ ।

उद्योगीले पटक–पटक लाइन उपलब्ध गराइदिन प्राधिकरणलाई लिखित आग्रह गर्दा पनि सुनुवाइ नभएको उद्योगीहरुले बताएका छन् । ‘बैङ्कबाट ऋण लिएर एक अर्ब रुपैयाँको लगानीमा उद्योग स्थापना भइसकेको छ,’ नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने, ‘तर, प्राधिकरणले विद्युत् उपलब्ध नगराउँदा उद्योग सञ्चालन हुन सकेको छैन ।’

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ उद्योगलाई विद्युत् उपलब्ध गरानुपूर्व सबस्टेसन लाइन निर्माण गर्नुपर्ने भएकाले अहिले त्यसको काम भइरहेको बताए । ‘प्रसारण लाइन र सबस्टेशन निर्माण भइनसकेकाले नयाँ उद्योगलाई विद्युत् उपलब्ध गराउन नसकिएको हो,’ प्राधिकारणका कार्यकारी निर्देशक घिसिङले भने, ‘निर्माण कार्य पूरा हुनासाथ उद्योगलाई विद्युत् उपलब्ध गराइन्छ ।’

नयाँ उद्योगबाट विद्युत् आपूर्तिका लागि माग आइरहेको स्वीकार गर्दै घिसिङले भने, ‘नयाँ उद्योगलाई विद्युत् उपलब्ध गराउन प्राधिकरणले क्षमता विस्तार गर्नुपर्छ । अहिले त्यही काम भइरहेको छ ।’

सरकारले औद्योगिक क्षेत्रमा हुने लोडसेडिङ अन्त्य भएको घोषणा गरे पनि उद्योगीले मागेजति विद्युत् पाउन सकेका छैनन् । ‘प्राधिकरणले नयाँ उद्योगलाई लाइन दिन त परै जाओस्, पुराना उद्योगीले बढी क्षमतामा विद्युत् माग गरे पनि पाइएको छैन,’ महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भने, ‘गुणस्तरीय विद्युत् र नयाँ उद्योगलाई पनि तत्काल बिजुली उपलब्ध गराउनुपर्छ ।’

पहिलेदेखि सञ्चालनमा रहेका उद्योगमा गुणस्तरीय विद्युत् आपूर्ति व्यवस्था गर्न नसकेर छिनछिनमा लाइन ट्रिपिङको समस्या खेपिरहेका बेला नयाँ खोलिने उद्योगहरुमा पनि विद्युत् आपूर्तिको समस्या बल्झिएको हो । अहिले हावाहुरी, विद्युत्को अत्यधिक लोड, तराईमा बढ्दो तापक्रमका कारण लाइन ‘ट्रिपिङ’ समस्यका कारण उद्योगहरुले नोक्सान व्योहोर्नु परेको गुनासो व्यवसायीबाट आउन थालेको छ । नियमित विद्युत् आपूर्ति भएपनि दैनिक ५० पटक हुने लाइन ट्रिपिङले व्यवसायी मर्कामा पर्ने गरेका छन् ।

मुलुकको आर्थिक समृद्धिको आधार मानिएको उद्योग क्षेत्रमा नयाँ उद्योग भित्रिनु सकारात्मक हो । तर, गुणस्तरीय विद्युत् आपूर्ति गर्न प्राधिकरणले तदारुकता नदेखाउँदा उद्योग क्षेत्रको योगदान खस्किँदै जाने देखिएको छ ।