सीएनआई र राजदूतबीच भेटवार्ता

नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनीकाकोडिले नेपालको आर्थिक विकासमा युरोपियन युनियनकोतर्फबाट निरन्तर सहयोग हुने बताएकी छिन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई)का पदाधिकारीहरुसँग भएको भेटवार्ताको क्रममा राजदूतकोडिले उक्त विचार राखेकी हुन् ।

भेटवार्ताको क्रममा राजदूतकोडिले नेपालको संविधानको कार्यान्वयनसँगै शान्तिपूर्ण रुपमा सम्पन्न केन्द्र, प्रदेश र स्थानीयतहको निर्वाचनपछि देश विकासको सम्भावना र विश्वास लगानीकर्ताहरुमा बढेको आफूले महशुस गरेको र नेपालको जनस्वास्थ्य, शिक्षा क्षेत्रको साथै निजी व्यवसाय प्रवद्र्धनको क्षेत्रमा समेत युरोपियन युनियनकोतर्फबाट सहयोग रहेको बताएकी छन् ।

परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपालको राजनीतिक स्थायित्व भएसँगै आर्थिक एजेण्डालाई नै अबको सरकार र राजनीतिक दलले प्राथमिकता राखेको पाइएकोले निजी क्षेत्रको संस्थागत विकासमा युरोपियन सङ्घ जस्ता विकास साझेदार संस्थाहरुको सहयोग अर्थपूर्ण रहने अपेक्षा लिएको बताए ।

विगत ३ वर्षदेखि युरोपियन युनियनको सहयोगमा नेपालको निकासी प्रवद्र्धनको उद्देश्यले स–साना परियोजनाका साथै दुईवटा पूर्वाधार सम्मेलन समेत सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्नु हुँदै उद्योगको उत्पादन वृद्धि, गुणस्तर सुधार गर्ने उद्देश्यले ‘औद्योगिक एक्सिलेन्स केन्द्र’ सञ्चालनको काम अघि बढाउने उनले बताए ।