चिनी कारखानाबाट साढे २० मेगावाट बिजुलीः पीपीएको अन्तिम तयारीमा प्राधिकरण

‘तीनओटा चिनी कारखानाबाट बीस दशमलव ५ मेगावाट विद्युत् पीपीए गर्ने तयारीमा छौँ,’ उनले भने, ‘पीपीए स्वीकृति हुन बाँकी छ ।’ रिलायन्स चिनी मिलबाट १६ मेगावाट, इन्दु शङ्कर चिनी मिलबाट ३ मेगावाट र एभरेष्ट सुगर मिलबाट एक दशमलव ५ मेगावाट विद्युतको पीपीए हुने भएको प्रवक्ता अधिकारीले बताए ।

नेपाल विद्युत् प्राधिकरणले चिनी उद्योग तथा कारखानाबाट उत्पादित उखु उत्सर्जनबाट उत्पादन हुने साढे २० मेगावाट विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ ।

खासगरी तीनओटा चिनी कारखानाबाट उखुको उत्सर्जित पदार्थबाट उत्पादित विद्युत् पीपीएको अन्तिम तयारीमा रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । ‘तीनओटा चिनी कारखानाबाट बीस दशमलव ५ मेगावाट विद्युत् पीपीए गर्ने तयारीमा छौँ,’ उनले भने, ‘पीपीए स्वीकृति हुन बाँकी छ ।’ रिलायन्स चिनी मिलबाट १६ मेगावाट, इन्दु शङ्कर चिनी मिलबाट ३ मेगावाट र एभरेष्ट सुगर मिलबाट एक दशमलव ५ मेगावाट विद्युतको पीपीए हुने भएको प्रवक्ता अधिकारीले बताए ।

पहिलो चरणमा रिलायन्स चिनी मिलबाट १६ मेगावाट विद्युतको पीपीए हुने छ । अन्य दुई चिनी उद्योगको पनि सँगै पीपीए गर्ने तयारीमा प्राधिकरण छ । सुख्खायाममा विद्युत् खपत बढी हुने तर, आयोजनाबाट उत्पादन हुने विद्युतको क्षमता घट्ने भएकाले भएकाले वैकल्पिक प्रणालीबाट विद्युत् खरिद सम्झौता गर्न लागिएको प्रवक्ता अधिकारीले बताए ।

चिनी उद्योग जस्तै अन्य उद्योगबाट उत्सर्जन हुने वस्तुबाट उत्पादित विद्युत् प्राधिकरणले पीपीए गर्नु सकारात्मक रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए । ‘विद्युत् प्राधिकरणले चिनी कारखानाबाट उत्पादित विद्युत् पीपीए गर्ने भनेको छ, त्यो राम्रो कुरा हो,’ उनले भने, ‘हामीले पहिलेदेखि नै भन्दै आएको हौँ, प्राधिकरणले पहिले नै गर्नुपर्थ्यो ।’