साढे दुई वर्षभित्र निजी क्षेत्रको दुई हजार मेगावाट विद्युत्

‘यस वर्ष निजी क्षेत्रबाट एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका थियौँ,’ उनले भने, ‘बैङ्किङ तथा वित्तीय असहयोगका कारण समयमै ती आयोजना सञ्चालनमा आउन नसक्ने देखिएका छन् ।

निजी क्षेत्रले आगामी साढे दुई वर्षभित्र दुई हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ भित्र एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएपनि बैङ्किङ असहयोगका कारण ती आयोजना निर्माणमा ढिलाई हुने देखिएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए । ‘यस वर्ष निजी क्षेत्रबाट एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका थियौँ,’ उनले भने, ‘बैङ्किङ तथा वित्तीय असहयोगका कारण समयमै ती आयोजना सञ्चालनमा आउन नसक्ने देखिएका छन् । तर, अझै पनि ७ सय मेगावाटका आयोजना सञ्चालनमा आउने अपेक्षा गरेका छौँ ।’ उनले उत्पादन लक्ष्य लिएका ती आयोजनाहरु प्रगति उन्मुख रहेको बताए ।

बैङ्क तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा लगानी रकम घटाउँदै गएका हुन् ?भन्ने प्रश्नमा बैङ्कर्स एसोसियसनका प्रमुख ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले भने, ‘विगतमा बैङ्कले ऊर्जा क्षेत्रमा १५ प्रतिशत लगानी गर्नुपर्ने नीति भएको र पछि घटाएर ५ प्रतिशत बनाइएकाले बैङ्कको लगानी कम हुन गएको हो ।’

अहिले निजी क्षेत्र, सरकार तथा भारतबाट आयातित गरी एक हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइरहेको छ । निजी क्षेत्रको लगानीमा दुई वर्षभित्र अहिलेको उत्पादनकै दुई गुणा विद्युत् उत्पादन हुनु निजी क्षेत्रले ऊर्जा क्षेत्रमा गर्ने छलाङ रहेको गुरागाईंले बताए ।

सरकारले ऊर्जा क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गर्ने गरी बजेट नल्याएको उनको आरोप छ । ‘ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रसँग कसरी सहकार्य गर्ने भन्ने कुनै नीतिगत स्पष्टता बजेटमा देखिएन,’ उनले भने, ‘लगानीमैत्री वातावरण सिर्जना गरी पूँजी निर्माण गर्नेतर्फ सरकारले ध्यान दिन सकिरहेको छैन ।’

निजी क्षेत्रको लगानीमा अहिले ५ सय १२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यस्तै नेपाल विद्युत् प्राधिकरणबाट ५ सय मेगावाट र ४ सय ७० मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । प्राधिकरणले औद्योगिक क्षेत्रमा रहेको दैनिक ४ घण्टाको लोडसेडिङ अन्त्य गरेको भएपनि नयाँ उद्योगहरुले विद्युत् पाइरहेका छैनन् । विद्युत् पाइरहेका उद्योगहरु पनि छिनछिनमा हुने लाइन ट्रिपिङ समस्यामा छन् ।