देश चिनाउने जुत्ता

पाल्पाबाट काठमाडौं आएका नूरप्रताप राणाले स्थापना गरेको उद्योगलाई उनको शेषपछि अहिले छोरा अमिर राणाले जीवन दिइरहेका छन् । हेटौंडाबाट सुरु भएको जुत्ता उत्पादन अहिले काठमाडौंको चप्पल कारखाना, नीलो पुल र बालाजुबाट समेत उत्पादन हुन्छ । कम्पनीले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)बाट पनि उत्पादनका लागि तयारी भइरहेको छ ।

कुनै बेला थियो, गोल्डस्टार जुत्ता लगाउनु भयावह मानिन्थ्यो । जुत्ताको मूल्य र गुणस्तरले सर्वसाधारणको रोजाइमा परेको गोल्डस्टारलाई माओवादी विद्रोहीले पनि लगाउन थाले । त्यसपछि सेनाले गोल्डस्टारलाई टार्गेट ग¥यो । द्वन्द्वका बीचमा पनि तङ्गिँ्रदै गरेको गोल्डस्टार जुत्तालाई घरेलु बजारमा बजारीकरण गर्ने सरकारबाटै अवरोध हुन थाल्यो । त्यो समयसँगै जुध्दै अगाडि बढेको गोल्डस्टार अहिले नेपालबाहिर बढी बिक्री हुन थालेको छ भने नेपालभित्रै फेसनको बेन्चमार्क खडा गर्दै छ ।

सन् १९७० मा स्थापित उद्योगले सन् १९९० देखि गोल्डस्टार जुत्ता उत्पादन थालेको हो । पाल्पाबाट काठमाडौं आएका नूरप्रताप राणाले स्थापना गरेको उद्योगलाई उनको शेषपछि अहिले छोरा अमिरप्रताप राणाले जीवन दिइरहेका छन् ।

नूरप्रतापले सजिलैसँग भने यो उद्योग लगाएका थिएनन् । उनको यात्रा पनि सजिलो थिएन । पाल्पाको भैरवस्थानमा जन्मेका नूरप्रतापले काठमाडौं आएर युनिभर्सल गु्रपमार्फत एक दर्जन व्यवसाय स्थापित गर्नु आफैंमा कठिन हो । ‘मेरो बुबा पाल्पाको गाउँबाट काठमाडौं आएर प्रगति गर्नु चानचुने कुरा थिएन,’ छोरा अमिर राणा भन्छन्, ‘मोहनशमशेर प्रधानमन्त्री हुँदा बुबा काठमाडौं आउनुभएको हो, त्यो बेला जङ्गबहादुरका सन्तानलाई पढ्न अनुमति थिएन । त्यसैले बुबा भूमिगत रुपमै काठमाडौं आएर भूमिगत रुपमै संघर्ष गरेर पढ्नुभयो । राणाको पालामा पनि हामी राणा भएर दुःख पायौं, द्वन्द्वकालमा पनि राणा भएकैले दुःख पाइयो ।’

माओवादी द्वन्द्वकालमा पनि आफूहरुलाई राणा भएकैले दुःख दिइएको उनको भनाइ छ । ‘माओवादी मूलधारको राजनीतिमा आएको केही समयपछि पनि हाम्रा फ्याक्ट्रीमा आएर यो सामन्तीको उद्योग हो भन्ने आरोप लगाइयो,’ उनले भने, ‘सामन्तीको उद्योग भनेर यसलाई बन्द गराउनुपर्छ भनेर उद्योगमै आएर माओवादी नेताले भाषण गर्न थाले । तर असह्य भएपछि मैले त्यसको प्रतिकार गर्नुप¥यो । यो कसैको बपौती होइन, मेरा बाबुले हाड घोटेर सिर्जेकोे उद्योग हो समेत भन्नुप¥यो । मलाई याद छ, त्यो बेला मैले यहाँ काम गर्ने कामदारलाई पारिश्रमिक दिएको छैन भने त्यसमा तपाईंहरुले केही अब्जेक्सन गर्न सक्नुहुन्छ, होइन भने कानुनी रुपमा जान सकिन्छ, यो देशमा कानुन पनि छ त्यसैका आधारमा हामीले उद्योग सञ्चालन गरिरहेका छौं, म उद्योगमा काम गर्ने साथीहरुकै बीचमा ती माओवादी नेताको विरुद्धमा कड्किएर बोलेको थिएँ ।’

द्वन्द्वकाल र त्यसपछि पनि निरन्तर दुःख पाउँदा उद्योग नै बन्द गराउने सोच पनि नआएको होइन उनमा । तर आफ्ना बाबुले गरेको दुःख र खडा गरेको उद्योगलाई नयाँ उचाइमा लैजानैपर्छ भन्ने उद्देश्यले सङ्घर्षलाई आत्मसात् गरेको उनको भनाइ छ ।

अमिरका बुबा र आमा दुवै जागिरे थिए । त्यो बेलाको जागिरबाट बचाएको २१ हजार रुपैयाँले उद्योग लगानी सोच नूरप्रतापलाई आएको थियो । त्यसका लागि उनले एकजना साझेदार पनि खोजेका थिए । अमिर भन्छन्, ‘बुबाले २१ हजार बचाएर, साझेदार खोजेर बनाएको उद्योग हो, त्यही जगका कारण अहिले हामी यो स्थानमा छौं ।’

गोल्डस्टार जुत्ता बनाउनुअघि नै सन् १९८० तिर नूरप्रतापले चप्पल उत्पादन थालेका थिए । हवाई चप्पल उत्पादन गरेर बजारमा पठाएपछि यसको बजार तीव्र रुपमा फैलियो । हवाई चप्पलको हात्ती छाप ब्रान्डको सोलोगन ‘हात्ती बलियो कि हात्तीछाप चप्पल, उस्तै उस्तै हो नानु’ डेढ दशकभन्दा बढी समय चर्चित बन्यो ।

‘सुरुमा हामीले चप्पल उद्योग खोलेका हौँ, जब चप्पलमा हामीले सफलता प्राप्त ग¥यौं, त्यसपछि मात्र हाम्रो यात्रा जुत्तातर्फ अघि बढेको हो,’ अमिरले भने । हेटौंडाबाट सुरु भएको जुत्ता उत्पादन अहिले काठमाडौंको चप्पल कारखाना, नीलो पुल र बालाजुबाट समेत उत्पादन हुन्छ । कम्पनीले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)बाट पनि उत्पादनका लागि तयारी भइरहेको छ ।

अमिर गोल्डस्टारको सफलता सुनाइरहँदा द्वन्द्वकालको समयमा पनि फर्कन्छन् । ‘द्वन्द्वकालमा गोल्डस्टार जुत्ता लगाउने माओवादी हो भन्ने किसिमको आभास सरकारलाई परेको थियो,’ उनी भन्छन्, ‘त्यो बेला सरकारले हाम्रो उद्योगलाई सीधै बन्द गर भनेको त थिएन । तर अप्रत्यक्ष रुपमा सरकारको असहयोग भइरहेको थियो । जस्तो कि, नाकाहरुमा गोल्डस्टार जुत्ता बोकेको गाडी रोकिदिने जस्ता काम त्यसबीचमा भएका थिए । त्यस अवस्थामा मैले थुप्रै जना पृतनापतिहरुलाई भेटेको छु । हाम्रो जुत्ता विशेषगरी पहाडतिर जान्थ्यो । पहाड जाने नाकाहरुमा हाम्रा जुत्ता अड्किने अवस्था रहन्थ्यो । यस्तो अवस्था हुँदाहुँदै पनि हामीले जुत्ता उत्पादन रोकेनौं ।’

गोल्डस्टारले पछिल्लो समय नयाँनयाँ किसिमका डिजाइनमा फोकस गर्दै आएको छ । सबै वर्गलाई लक्ष्य गरेर उत्पादन थालेको गोल्डस्टारका नयाँ डिजाइन पछिल्लो पटक सहरिया युवावर्गमा बढी पपुलर हुँदै गएको छ । अमीर भन्छन्, ‘अहिले बजारमा देखिएका जुत्ताको डिजाइन पाँच वर्षअघि नै तयार गरिएको हो । तर केही कारणले बजारमा ल्याउन ढिलाइ भयो । मलाई थाहा छ, नेपालका युवालाई कस्तो जुत्ता मन पर्छ । उनीहरुले के चाहन्छन् ?’

गोल्डस्टारले आफ्नै रिसर्च एन्ड डेभलपमेन्ट विभागमा पनि ठूलो लगानी गरेको छ । बजार र उपभोक्तामाथि अनुसन्धान गरेर उत्पादन थाल्ने भएर नै गोल्डस्टारको बिक्रीको ग्राफ उकालो पारामा गइरहेको छ । ‘हामीले रिसर्च एन्ड डेभलपमेन्टलाई विशेष जोड दिने गरेका छौं, मेरो सधैं जोड क्लालिटीमै हुने गरेको छ,’ उनले भने । किनभने गोल्डस्टार अहिलेसम्म टिकेको भनेको क्वालिटीकै कारण हो । मलाई लाग्छ, गोल्डस्टार जस्तो गुणस्तरको अहिले नेपाली बजारमा नेपाली उत्पादन नै छैन ।

कम्पनीले तीन हजार जनालाई रोजगारी दिएको छ । कम्पनीमा करिब ५ सय महिलाले पनि काम गरिरहेका छन् । ‘हामी महिलाहरुलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मान्यताअनुरुप अघि बढेका छौं, त्यसैले अब महिला कामदारलाई अझ बढी प्राथमिकतामा राख्छौं,’ उनले भने ।

गोल्डस्टारले अहिले जुत्ता र चप्पल मिलाएर दैनिक ६०/७० हजार उत्पादन गर्छ । उद्योगका जुत्ता र चप्पल ठूलो मात्रामा भारतमा निर्यात हुँदै आएका छन् । ‘हामी विशेषगरी निर्यातलाई प्रोत्साहन गरिरहेका छौं,’ उनले भने । माओवादी द्वन्द्वकालमा पनि नेपालभन्दा पनि भारतमै बढी निर्यात हुने गरेकोे उनले बताए । गोल्डस्टारको पहिले दुई ओटा मात्र डिजाइन ०३२ र ६०२ का थिए । यसले भारतमा राम्रैसँग व्यापार गरेको थियो । अहिले एक दर्जनभन्दा बढी मोडलहरु निर्यात हुँदै आएको छ । ‘निर्यातमुखी व्यापार हाम्रो पहिलेदेखिकै उद्देश्य हो,’ उनले भने, ‘यसले देशलाई फाइदा पु¥याउँछ भन्ने हामीलाई राम्रोसँग ज्ञान छ, त्यसैले निर्यातमा जोड दिएका हौं ।’

कुनै समय गोल्डस्टार जुत्ताको माग भारतमा यति बढी भइदियो, कम्पनीले नेपालको बजार मागलाई कटौती गरेर भारत निर्यात गर्नुपर्ने बाध्यता सिर्जना भयो । ‘नेपालको बजार माग कटौती गरेपछि नेपालका डिस्ट्रिब्युटरहरुले हामीलाई तपाईंहरुले सामान नै दिनुभएन भन्ने समेत गुनासो गरे,’ अमिरले भने, ‘भारतमा हामी स्थापित छौं । त्यसैले भारतबाट माग बढी आएकै कारण पठाउनुपर्ने बाध्यताले नेपालको बजार माग कटौती गर्नुप¥यो । तर अहिले नेपालको बजारको माग र भारतीय बजारको मागलाई मिलाएर अगाडि बढेका छौं ।’

नेपाली र भारतीय बजारमा गोल्डस्टारको माग अत्यधिक बढेपछि बजारमा गोल्डस्टारका नक्कली जुत्ताहरु छ्यापछ्याप्ती देखिए । ‘चीनबाट पनि गोल्डस्टारकै नाममा नक्कली जुत्ता पनि आएको पाइयो,’ राणाले भने, ‘म धेरै पटक तातोपानी नाकामा भन्सार प्रमुखसँग झगडा गर्न गएको छु । त्यो बेला हाम्रो उद्देश्य राजस्व उठाउनु मात्र हो भन्ने किसिमको जवाफले भने मन दुखेको छ ।’

उनी थप्छन्, ‘हामीले यहाँ हजारौंलाई रोजगारी दिएर जुत्ता उत्पादन गरिरहेका छौँ । तर बाहिरबाट नक्कली जुत्ता आयात भइदिँदा त्यसले नेपाली उत्पादनलाई पक्कै गाह्रो बनाउँछ । यसै सम्बन्धमा मैले कतिपटक अदालतको ढोका पनि ढकढक्याएको छु । अहिले बल्ल गोल्डस्टार जुत्ताको ‘गोल्ड’ अथवा ‘स्टार’ कुनै शब्द प्रयोग गरेर जुत्ता उत्पादन गर्न नपाइने भनी सर्वाेच्च अदालतको पूर्ण इजलासले निर्णय गरिदिएको छ ।’

उद्योग सञ्चालन गरेबापत उद्योगले सरकारलाई पनि त्यसबापतको राजस्व तिरेकै छ । हजारौं मान्छेले रोजगारी पाएका छन् । ‘यस्ता कुराले मलाई गौरवको अनुभूति हुन्छ । तर नीतिगत अप्ठ्याराका कारण यहाँ अझै उद्योग सञ्चालन गर्न उपयुक्त वातावरण बनेको छैन,’ अमिरले गुनासो गरे ।
उद्योगमा जनशक्तिको सधैं अभाव भइरहन्छ । नेपालबाट युवा जनशक्ति पलायन हुने तर नेपालकै उद्योगमा अभाव हुने भइरहेको उनको अनुभव छ । ‘मेरो फ्याक्ट्रीमा युवाले रोजगारी त गर्छन् । तर एकदमै छोटो समयका लागि । उनीहरु गाउँबाट आउँछन्, बाहिर जान भिसा अप्लाई गर्छन् । बीचको समयमा उद्योगमा काम गर्छन् । एक वर्षको अवधिमा मेरो फ्याक्ट्रीबाट ३४ सयले जागिर छाडेको रेकर्ड छ,’ उनले भने ।

युवाहरुको पलायन देखेर राणाले महिलाहरुलाई उद्योेगमा जागिर दिन थाले । राणा भन्छन्, ‘युवाहरु आउने काम गर्ने तर बीचमै छाड्ने प्रवृत्ति बढेपछि महिला कामदारलाई प्राथमिकतामा राखेका छौं । हामीले सुरुमा महिलाहरुलाई टे«निङ दिएर बुझाएर काममा लगाउने गरेका छौं ।’

कम्पनीले महिलालाई रोजगार दिन थालेपछि त्यसको प्रभाव उनीहरुको घरमा समेत पर्न थालेको अमिरको अनुभव छ । ‘यसले महिला सशक्तीकरणमा पनि योगदान पुगेको छ । साथै उनीहरुको बचत गर्ने बानी बढी भएको मैले पाएको छु,’ उनले भने । सुरुवातमा ट्रेनिङ पिरियडमा काम गर्दा आम्दानी कम भए पनि सिकिसकेपछि उनीहरुले राम्रो गरेका छन् । ओभरटाइम गरेर प्रशस्त पैसा कमाएका छन् । यसले आफूलाई सन्तुष्टि दिने उनको भनाइ छ ।

गोल्डस्टार जुत्ताको माग यसरी बढिरहेको छ कि खाडी मुलुक र अफ्रिकी मुलुकबाट माग बढ्दै गएको छ । नेपाली उत्पादनमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पछ्याउनेमा वाइवाई चाउचाउपछि गोल्डस्टार जुत्ता पर्न थालेको छ । विदेशमा बस्ने नेपालीले नेपालको कोसेलीमा गोल्डस्टार जुत्ता लैजान थालेका छन् । अमिर भन्छन्, ‘गोल्डस्टारलाई विश्वव्यापी ब्रान्ड बनाउने सपना छ ।’