हुरीबतासका कारण मुलुकभर विद्युत् आपूर्तिमा समस्या

इलाम वितरण केन्द्रमा मात्रै ४ सय ४ क्षति पुगेका पोलमध्ये ३ सय ६२ काठका पोल छन् । पाल्पा, गुल्मी र अर्घाखाँची क्षेत्रमा पनि अत्यधिक काठका पोलमा क्षति पुगेको छ ।

गत केही दिनदेखि ठूलो हुरीबतास आएका कारण मुलुकभर विद्युत् आपूर्तिमा समस्या देखिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । मुलुकमा विभिन्न क्षेत्रमा ठूलो हावाहुरी, बतास र असिनापानीका कारण विद्युत्का पोल तथा ट्रान्सफर्ममा क्षति पुगेको हो ।

विभिन्न क्षेत्रीय कार्यालयका शाखाअन्तर्गतका वितरण केन्द्रमा रहेका पोल र ट्रान्सफर्मरमा क्षति पुगेकाले नियमित गुणस्तरीय विद्युत् आपूर्तिमा समस्या देखिएकाले क्षति भएका संरचनाको मर्मत गरी सुचारु गर्न पहल गरिरहेको जनाएको छ ।

मुलुकुभर हुरीबतास र असिना पानीका कारण ४ हजार २४ ओटा पोल र एक सय ५८ ओटा ट्रान्सफर्मरमा क्षति पुगेकाले विद्युत् आपूर्तिमा समस्या देखिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । ‘केही दिनदेखिको हावाहुरीबाट विभिन्न क्षेत्रीय कार्यालयअन्तर्गत शाखा वितरण केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ,’ उनले भने, ‘अहिलेसम्मको तथ्याङ्क हेर्दा ४ हजार २४ पोल र एक सय ५८ ओटा ट्रान्सफर्ममा क्षति पुगको छ ।’

उनले हाल देशैभरको ६० प्रतिशत विद्युत् वितरण प्रणाली ओभरलोडका भएको र अझ बर्खायाम सुरु भएपछि हुरीबतासका कारण ढल्ने हुँदा सबै क्षेत्रीय कार्यालयअन्तर्गतका वितरण केन्द्रमा मर्मतसुधारलार्ई प्राधिकरणले तीव्र पार्दै लगेको अधिकारीले जनाए ।

अधिकांश क्षेत्रमा काठका पोल भएकाले बढी क्षति हुने गरेको उनको भनाइ छ । उनका अनुसार इलाम वितरण केन्द्रमा मात्रै ४ सय ४ क्षति पुगेका पोलमध्ये ३ सय ६२ काठका पोल छन् । त्यस्तैगरी पाल्पा, गुल्मी र अर्घाखाँची क्षेत्रमा अत्यधिक काठका पोलमा क्षति पुगेको छ । बुटवल क्षेत्रीय कार्यालयअन्तर्गतका वितरण केन्द्रमा क्षति भएका संरचनाको मर्मत गरी विद्युत् सुचारु गरिएको छ । काठमाडौं क्षेत्रीय कार्यालयका वितरण केन्द्रमा खासै क्षति भएको छैन ।

खासगरी विराटनगर, नेपालगन्ज, जनकपुर र हेटौंडालगायत पूर्वी क्षेत्रका क्षेत्रीय कार्यालयअन्तर्गतका वितरण शाखा तथा केन्द्रमा बढि क्षति भएको प्राधिकरणले जनाएको छ ।