रोयल स्टेगको बजार लिन नेपाली ब्रान्डबीच प्रतिस्पर्धा

रोयल स्टेग नेपाली बजारबाट बाहिरिएपछि त्यसको बजार लिन आधा दर्जन ब्रान्ड घरेलु बजारमा उत्रिएका छन् । बजारमा आएका केही ब्रान्डमा अगाडि रोयल राखेर त केहिले प्याकेजिङ पनि करिब उस्तै बनाएर मदिरापारखीलाई आकर्षित गर्न खोजिरहेका छन् ।

नेपाली मदिरा बजारमा कुनै समय ठूलो बजार हिस्सा ओगटेको बहुराष्ट्रिय कम्पनी सिग्राम्सको रोयल स्टेग गत वर्ष नेपाली बजारबाट बाहिरियो । सरकारले फ्रेन्चाइज कम्पनीलाई कुल नाफाको ६ प्रतिशत मात्र नाफा लैजान पाउने नयाँ व्यवस्था गरेपछि बाहिरिएको रोयल स्टेगको बजार लिन अहिले स्वदेशी मदिरा ब्रान्डहरुमा प्रतिस्पर्धा चलेको छ ।

रोयल स्टेग नेपाली बजारबाट बाहिरिएपछि त्यसको बजार लिन आधा दर्जन ब्रान्ड घरेलु बजारमा उत्रिएका छन् । बजारमा आएका केही ब्रान्डमा अगाडि रोयल राखेर त केहिले प्याकेजिङ पनि करिब उस्तै बनाएर मदिरापारखीलाई आकर्षित गर्न खोजिरहेका छन् । अहिले बजारमा रोयल टिएजर, रोयल रिजर्भ, ओल्ड फरेस्टर, रकफर्ट, हिमालयन रिजर्भ र इम्पेरियर ह्विस्की देखिएका छन् । पछिल्लो पटक आएका मदिरालाई प्रिमियम बनाउनका लागि पनि कम्पनी कस्सिएका छन् । मदिराको बजार लिनका लागि औद्योगिक घरानादेखि नयाँ ‘प्लेयर’हरुको पनि प्रवेश भएको छ ।

७ सय ५० एमएलको १२ सय पर्ने रोयल टिएजरलाई हिमालयन डिस्टिलरी, ओल्ड फरेस्टरलाई यती डिस्टिलरी, १८ सय २० रुपैयाँ पर्ने रकफर्टलाई धनुषा डिस्टिलरी र ७ सय ५० एमएलको ७ सय रुपैयाँ पर्ने इम्पेरियर ह्स्विकीलाई हाइल्याण्ड डिस्टिलरीले बजारमा ल्याएका हुन् । औद्योगिक घराना शारडा गु्रपअन्तर्गतको प्रिमियम अग्र्यानिकले बजार हिस्सा लिनका लागि रोयल रिजर्भ र हिमालयन रिजर्भलाई बजारमा ल्याएको छ । १३ सय २० रुपैयाँमा रोयल रिजर्भ र २६ सय ५० मूल्यमा हिमालयन रिजर्भ ह्स्विकीलाई कम्पनीले बजारमा उतारेको हो ।

अहिले बजारमा नयाँ मदिराको प्रतिस्पर्धा चलेको शारडा ग्रुपका निर्देशक गौरव शारडाले बताए । ‘कसले राम्रो गर्ने र बजार लिने भन्ने प्रतिस्पर्धा राम्रैसँग चलेको छ,’ उनले भने । विदेशी मदिराबराबरको गुणस्तर दिनका लागि नेपाली ब्रान्डहरु आएको र यसले बजार पनि बढाउँदै लगेको उनले बताए ।
रोयल स्टेगको गुमेको बजार लिन नयाँ ब्रान्डविच तीव्र प्रतिस्पर्धा चलेको नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसीले बताए । ‘नेपालमा रोयल स्टेगको बजार राम्रै थियो, रोयल स्टेग बाहिरिएपछि त्यसको बजार लिनका लागि एकैपटक नयाँ ब्रान्ड बजारमा देखिन थालेका हुन्,’ उनले भने ।
नेपालको हिमालयन डिस्टिलरीले बहुराष्ट्रिय कम्पनी सिग्राम्सको रोयल स्टेग र ब्लेन्डर प्राइड मदिराको उत्पादन नेपालमा गर्दै आइरहेको थियो । १६ वर्षदेखि उत्पादन भएको मदिरा रोयल्टीसम्बन्धी नयाँ कानुन आएपछि नेपालमा बन्द हुँदै नेपालबाट बाहिरिएको हो ।

सरकारले विदेशी ब्रान्डलाई करबाहेक बढीमा कुल नाफाको ६ प्रतिशत मात्र रोयल्टीका रूपमा लैजान पाउने व्यवस्था गरेको छ । यही व्यवस्थाअनुसार हिमालयन डिस्टिलरीले सिग्राम्सलाई कम रोयल्टी दिन थालेपछि रोयल स्टेगले नेपाल छाडेको हो । अहिले हिमालय डिस्टिलरीले पनि रोयल स्टेगको बजार लिनका लागि आफ्नै उत्पादन रोयल टिएजर ल्याएको छ ।