प्राविधिक शिक्षातर्फ क्यानले सुरु गर्यो छात्रवृत्ति वितरण

‘नेसनल आईसीटी स्कलरसिप २०७५’ नाम दिई सातै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासङ्घ)ले प्रविधिक शिक्षातर्फ छात्रवृत्ति दिन सुरु गरेको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आएको क्यान महासङ्घले प्राविधिक शिक्षातर्फ पनि चालू वर्षदेखि छात्रवृत्ति थालेको हो ।

राष्ट्रभित्र सूचना प्रविधिको अध्ययनअध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरिब, जेहेनदार, विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्न लागिएको क्यानका अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिए । काठमाडौं मैतीदेवीस्थित लर्डबुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा यस वर्ष ४९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागिएको उनको भनाइ छ ।

‘नेसनल आईसीटी स्कलरसिप २०७५’ नाम दिई सातै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।

छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी सोमबार क्यानका तर्फबाट अध्यक्ष चौरसिया र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका तर्फबाट अध्यक्ष पङ्कज जलानले हस्ताक्षर गरेका छन् । फिमेल मेरिट आईसीटी स्कलरसिप प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई प्रदान गरिएको छ । आईसीटी मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई प्रदान गरिनेछ । सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार पाँच सय रुपैयाँ छात्रवृत्ति पाएका छन् ।

छात्रवृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलाजी एन्ड इनोभेसनको एफिलेसनमा सञ्चालित लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तहअन्तर्गत बिएससी आईटीको अध्ययन गर्न पाउनेछन् ।