गल्छी—रसुवागढी—केरुङ अन्तरदेशीय प्रसारण लाइन उच्च प्राथमिकतामा

चीनसँग ट्रान्समिसन लाइन र जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गर्न बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) प्रणालीबाट आयोजनाहरु अगाडि बढाइने तयारी भएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा उच्च क्षमताका प्रसारण लाइन र ठूला आयोजनाहरु प्राथमिकतामा पर्ने भएका छन् । चीनसँग ट्रान्समिसन लाइन र जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गर्न बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) प्रणालीबाट आयोजनाहरु अगाडि बढाइने तयारी भएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

उनले इनर्जी कोअपरेसनअन्र्तगत गल्छी—रसुवागढी—केरुङ अन्तरदेशीय प्रसारण लाइन मुख्य प्राथमिकतामा परेको बताए । ‘क्रस बोर्डर ट्रान्समिसन लाइन र केही ठूला आयोजनाको निर्माण समझदारी (एमओयू) हुने गरी परराष्ट्रले तयारी गरेको छ’ उनले भने, ‘त्यसको वित्तीय व्यवस्थापन बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मोडेलमा हुने छ ।’

गल्छी—रसुवागढी—केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनसँगै बुटवल—महेन्द्रनगर प्रसारण लाइन र कोसी करिडोरलाई पनि विशेष प्राथमिकतासाथ अगाडि बढाइने विषयमा छलफल भएको प्रवक्ता घिमिरेले बताए ।

त्यसैगरी मुख्य आयोजनाहरुमा किमाथाङ्का, अरुण र तमोर जलाशय आयोजना प्रस्ताव गरिएको उनको भनाइ छ । नेपाल र चीनसँग विद्युत् व्यापार हुने (गल्छी—रसुवागढी—केरुङ) अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई तीव्रता दिई समयमै सम्पन्न गर्न प्रधानमन्त्रीले चीन सरकारलाई आग्रह गर्ने छन् ।

यस अगाडि नै चीनसँग पावर कनेक्सन एग्रिमेन्ट गर्ने विषयमा छलफल हुँदै आएको थियो । चीन सरकारले पनि गल्छी—रसुवा—केरुङ निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।