दोर्दी जलविद्युत् आयोजनाको ७० प्रतिशत काम सकियो, चैत्रसम्म उत्पादन

लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको उक्त आयोजनाको काम तीव्र गतिमा भइरहेको हिमालयन पावर पार्टनर कम्पनीका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले जानकारी दिए ।

दोर्दी जलविद्युत् आयोजनाको ७० प्रतिशत काम सकिएको छ । लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको उक्त आयोजनाको काम तीव्र गतिमा भइरहेको हिमालयन पावर पार्टनर कम्पनीका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले जानकारी दिए ।

अहिले आयोजना अन्तर्गत हाइड्रो मेकानिकल, सिभिल, हेडबक्स, विद्युत् गृह, सुरुङ निर्माणको काम भइरहेको उनले बताए । आगामी २०७५ चैत मसान्तसम्म आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको ढकालले बताए । ‘आयोजना निर्माणको काम धमाधम भइरहेको छ,’ उनले भने, ‘आगामी चैतमसान्तसम्म उत्पादन दिने लक्ष्य लिएका छौँ’

हिमालयन पावर पार्टनरले निर्माण गरिरहेका आयोजनाको विभिन्न चरणको काम विभाजन गरी विभिन्न कम्पनीहरुलाई ठेक्का दिएको छ । सिभिल निर्माणतर्फको काम रसुवा कन्सट्रक्सनले गरिरहेको छ । त्यस्तै हाइड्रो मेकानिकलतर्फको काम माछापुच्छ्रे कन्सट्रक्सन र टनेल निर्माणको काम मल्टी एन्फा कन्सट्रक्सनले गरिरहेको ढकालले बताए ।

चार अर्ब २३ करोड रुपैयाँको लागतमा बन्न लागेको आयोजनामा झन्डै २ अर्ब खर्च भइसकेको आयोजनाले जनाएको छ । प्राइम बैङ्कको नेतृत्वमा अन्य ८ ओटा बैङ्कको सह—लगानीमा आयोजना निर्माण भइरहेको छ ।

आयोजना निर्माण कार्य २०७२ जेठबाट सुरु भएको थियो । २०७२ बैशाख १२ र २९ को विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण आयोजना थप दुई वर्ष पर धकेलिएको हो । दोर्दी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन दिन थालेपछि त्यसलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । त्यसका लागि ११ किलोमिटर कीर्तिपुर–उदिपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि ठेक्का भएको छ । दोर्दी करिडोरमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न उदिपुर—मार्किचोक प्रसारण लाइन बन्नुपर्छ ।

केही दिन अगाडि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको एक टोलीले त्यस क्षेत्रमा निर्माणाधीन आयोजना र प्रसारण लाइन निर्माणको अवस्था अवलोकन तथा अनुगमन समेत गरेको थियो ।