सेजभित्रका नयाँ उद्योग असारदेखि सञ्चालनमा

सेजभित्रका उद्योगलाई प्राधिकरणले नियमित विद्युत् आपूर्ति गरिदिएपछि ती उद्योगहरु सञ्चालनमा आउने भएका सेजका प्रमुख चण्डिका भट्टले जानकारी दिए ।

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)भित्रका उद्योगहरु आगामी असार १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । सेजभित्रका उद्योगलाई प्राधिकरणले नियमित विद्युत् आपूर्ति गरिदिएपछि ती उद्योगहरु सञ्चालनमा आउने भएका सेजका प्रमुख चण्डिका भट्टले जानकारी दिए ।

सेजभित्र स्थापना भएका उद्योगहरु औपचारिक रुपमा सञ्चालन गर्न अनुमति दिइएको सेजले बताएकाे छ । ‘सेजभित्र स्थापना भएका उद्योगहरु आगामी असार १ गतेदेखि औपचारिक रुपले सञ्चालनमा आउन सक्छन्,’ उनले भने, ‘विद्युत् आपूर्तिको समस्या नभएकाले उद्योगले अब आफ्नो आन्तरिक व्यवस्थापन मिलाएर सञ्चालनमा आउँछन् ।’

५२ बिगाहा क्षेत्रफलमा फैलिएको सेजभित्र ६८ ओटा प्लट छन् । सेजभित्र खासगरी वातावरणमा असर नपर्ने खालका उद्योगहरु सञ्चालन हुनेछन् । सेजभित्र खाद्य, कृषिजन्य, हर्बल, छालाजन्य, गलैँचा, उनी तथा पस्मिना, हातेकागज र तयारी पोशाकका गरी १७ किसिमका उद्योग सञ्चालन हुनेछन् ।

सेजभित्र रहेका उद्योगबाट उत्पादित अधिकांश सामानहरु विदेश निर्यात हुनेछन् । सेजभित्रका उद्योगबाट उत्पादन हुने वस्तुमध्ये ७५ प्रतिशत सामान विदेश निर्यात गर्नुपर्ने प्रावधान छ । साना तथा रुग्ण उद्योग तथा कारखानाको विकास विस्तार गरी स्वदेशी वस्तु अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सेजको स्थापना भएको हो ।

हाल सेजभित्र २६ ओटा उद्योगहरुले सञ्चालनका लागि अनुमति पाएकाले तिनै उद्योग सञ्चालनमा आउने प्रमुख भट्टले जानकारी दिए ।