आइएमईको व्यावसायिक यात्रा समाविष्ट पुस्तक सार्वजनिक

आइएमई डिजिटल सोलुसन लिमिटेड र युएनसीडीएफको संयुक्त पहलमा प्रकाशित आइएमईको व्यावसायिक यात्रा समाविष्ट पुस्तक र भिडियो शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच अनावरण गरिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल, बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं, नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रीत सिंह, आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले उक्त पुस्तक÷भिडियो संयुक्त रुपमा अनावरण गरेका हुन ।

सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिट्यान्स कम्पनी हो । जसले आजभन्दा १८ वर्ष अघि औपचारिक माध्यामबाट पहिलोपटक नेपालमा विदेशी मुद्रा भित्र्याउने कार्यको थालनी गरेको थियो । कुल ४८ पृष्ठ मोटो पुस्तक र ६ मिनेट लामो भिडियोमा आइएमईको १६ वर्षसम्मको व्यावसायिक यात्रा समावेश गरिएको छ ।

अनावरण कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरन्जीवी नेपालले आइएमईले तय गरेको सफल व्यावसायिक यात्राको उच्च प्रशंसा गर्दै डिजिटल वित्तीय सेवामा पनि सफलताको कामना गरे । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले कृषि बीमाका लागि मौसमसँग सम्बन्धित रही कसरी बीमा सेवा प्रदान गर्न सकिन्छ भन्नेमा अध्ययन भइरहेको जानकारी दिए ।

नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सूचना–प्रविधि र टेलिकमको तीब्रत्तर परिवर्तन भइरहेकाले डिजिटल वित्तीय सेवालाई पनि त्यसरी नै विकास गर्न सम्भव भएको बताए । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको केन्द्रीय बैंकले आजभन्दा झण्डै दुई दशक अघि नेपालको निजी क्षेत्रलाई विश्वासमा लिएर रेमिट्यान्स कारोबार गर्ने सहासिक निर्णय गरेकाले नै आज मुलुकमा झण्डै ८० प्रतिशत रकम औपचारिक संजालबाट ल्याउन सम्भव भएको बताए । डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गर्न पनि नियमन निकायले त्यस्तै सहासिक निर्णय गर्नुपर्ने भन्दै अध्यक्ष ढकालले राष्ट्र«, व्यावसायिक संस्था र उपभोक्ता सबैलाई हित गर्ने व्यवसाय मात्र दिगो हुने बताए ।