एजेन्ट कमिसनले नेपाल एयरलाइन्सलाई दैनिक तीन लाख घाटा !

नेपाल एयरलाइन्सको बिहीबार दिल्ली–काठमाडौं उडानको एकतर्फी भाडा १२ हजार ८ सय ७६ रहेको छ । त्यसमा ७ प्रतिशत कमिसन ९ सय १ कटाउनुपर्ने हुन्छ । १ सय ५८ यात्रु हुने नेपाल एयरलाइन्सको प्रत्येक दिनको प्रत्येक फ्लाइटको घाटा १ लाख ४२ हजारभन्दा बढी छ ।

भारतबाट उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले स्थानीय एजेन्टलाई दिने कमिसनलाई १ प्रतिशतमा झारे पनि नेपाल एयरलाइन्सले ‘मिलेमतो’मा एजेन्टलाई ७ प्रतिशतसम्म कमिसन दिँदै आएको पाइएको छ । भारतबाट उडान गर्ने सबै अन्तर्राष्ट्रिय एयरलाइन्सले गत अप्रिलदेखि नै कमिसनलाई १ प्रतिशतमा खुम्च्याएका हुन् ।

कमिसन घटाउनुअघि अन्तर्राष्ट्रिय एयरलाइन्सले भारतमा ३ प्रतिशत मात्र कमिसन दिँदै आएका थिए । तर नेपाल एयरलाइन्सले भने अहिले पनि ७ प्रतिशत कमिसन दिँदै आएको छ । अरु एयरलाइन्सले ३ प्रतिशतबाट १ प्रतिशतमा झारे पनि नेपाल एयरलाइन्सका केही कर्मचारी र एजेन्ट मिलेर ७ प्रतिशत कमिसन दिएको र त्यसमा मिलेमतो रहेको नेपाल एयरलाइन्सका उच्च अधिकृतले क्यापिटल नेपाललाई जानकारी दिए ।

‘भारतबाट नेपाल उडान गर्ने सबै एयरलाइन्समा यात्रुको चाप राम्रै छ । हाम्रो एयरलाइन्समा पनि यात्रु बढिरहेका छन् । तर हामीले अनाश्यक रुपमा कमिसन दिइरहेका छौं,’ ती अधिकृतले भने । बैठकमा पटकपटक घटाउनका लागि प्रस्ताव भए पनि त्यही कमिसन बाँडफाँट हुने भएकाले घटाउन पहल नभएको उनले बताए ।

विगतमा बजार बढाउन कमिसन बढाए भए पनि अरु एयरलाइन्सले घटाउँदा समेत नेपाल एयरलाइन्सले नघटाएको विषयमा भारतमा रहेका कर्मचारीहरूसँग नै जानकारी लिनुपर्ने नेपाल एयरलाइन्सका कर्पाेरेट डाइरेक्टर रवीन्द्र श्रेष्ठले बताए । ‘विगतमा प्रतिस्पर्धा थियो । तर अहिले के भइरहेको छ, त्यसबारे अपडेट लिनुपर्छ,’ उनले भने ।

नेपाल एयरलाइन्सको बिहीबार दिल्ली–काठमाडौं उडानको एकतर्फी भाडा १२ हजार ८ सय ७६ रहेको छ । त्यसमा ७ प्रतिशत कमिसन ९ सय १ कटाउनुपर्ने हुन्छ । १ सय ५८ यात्रु हुने नेपाल एयरलाइन्सको प्रत्येक दिनको प्रत्येक फ्लाइटको घाटा १ लाख ४२ हजारभन्दा बढी छ । कमिसनका कारण नेपाल एयरलाइन्सलाई वार्षिक ७ करोड रुपैयाँभन्दा बढी घाटा हुन्छ । एयरलाइन्सले यात्रुको चापलाई दृष्टिगत गरी दिनको दुईपटक समेत दिल्ली–काठमाडौंको उडान गर्दै आएको छ ।

भारतमा अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले सन् २००० सम्म ट्राभल एजेन्टलाई ९ प्रतिशत कमिसन दिने गरेका थिए । सन् २००१ देखि ७ प्रतिशत र २००५ को मे महिनादेखि ५ प्रतिशत थियो । सोही वर्षको नोभेम्बरमा १६ एयरलाइन्सले कमिसनलाई शून्य बनाएका थिए भने बाँकी एयरलाइन्सले ३ प्रतिशत कमिसन दिँदै आएका थिए । तर नेपाल एयरलाइन्सले ट्राभल एजेन्टलाई ७ प्रतिशत कमिसन दिँदै आएको छ ।

एयरलाइन्सहरुले ट्राभल एजेन्टहरुलाई टिकट बिक्रीबापत कमिसनसँगै पीएलबी इन्सेन्टिभ पनि दिने गरेका छन् । यसरी दिने इन्सेन्टिभ १ देखि ५ प्रतिशतसम्म हुने भएकाले अन्य अन्तर्राष्ट्रिय उडानले कमिसन घटाएका हुन् । नेपाल एयरलाइन्सले भने ७ प्रतिशत कमिसन र ५ प्रतिशतसम्म इन्सेन्टिभ दिँदै आएको छ, जसले एयरलाइन्सको नाफामा असर गरेको छ ।