एसएसपी पन्तले अहिले मध्य उपत्यकाका सडक तथा अन्य स्थानमा दुईपाङ्ग्रे सवारीकै कारण ठूला दुर्घटना हुने गरेको भन्दै अब त्यो समस्या चाँडै नै विस्थापन हुने बताए ।
उपत्यकाका सवारीसाधन व्यवस्थापन गर्न ट्राफिक व्यवस्थापन महाशाखाले नयाँ कार्ययोजना बनाउने तयारीमा जुटेको छ । विशेषगरी उच्च ध्वनिप्रदूषण गर्ने मोटरसाइकल तथा पुराना दुईपाङ्ग्रे स्कुटर तथा मोटरसाइकललाई विस्थापन तथा जाम, दुर्घटनालगायत अन्य विभिन्न समस्या समाधान गर्ने उद्देश्यले नयाँ कार्ययोजना तयार गर्न लागिएको ट्राफिक व्यवस्थापन महाशाखाका एसएसपी बसन्त पन्तले जानकारी दिए ।
एसएसपी पन्तले अहिले मध्य उपत्यकाका सडक तथा अन्य स्थानमा दुईपाङ्ग्रे सवारीकै कारण ठूला दुर्घटना हुने गरेको भन्दै अब त्यो समस्या चाँडै नै विस्थापन हुने बताए । अहिले बजारमा ठूलो आवाज निकालेर बाइक हाँक्ने युवाको जमात बढ्दै गएको छ । उनले त्यो जमातलाई आगामी दिनमा त्यसरी बाइक हाँक्न प्रतिबन्ध समेत लगाउन सकिने बताए । उपत्यकामा महँगा मोटरसाइकलले नै ध्वनि प्रदूषण गरिरहेका छन् । व्यवसायी तथा आयातकर्तासँग समन्वय गरी त्यस्ता साधनलाई हटाउन नयाँ कदम चालिने उनको भनाइ छ ।
त्यस्ता ध्वनि प्रदूषण गर्ने मोटरसाइकलको मूल्य पाँच लाखदेखि एक करोड रुपैयाँसम्म पर्छ । यस्ता बाइकले बाटो हिँड्नेलाई मात्र नभएर सडक वरिपरिका घरमा बस्ने मानिसलाई समेत वाक्कदिक्क पारेको उजुरी आउने गरेको पन्तको भनाइ छ । पन्तले अब दुईपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न कुनै पनि कसर बाँकी नराख्ने जनाएका छन् । ‘अब पहिलाको जस्तो जे गरेपनि हुन्छ भनेर नसोचे हुन्छ, ट्राफिक प्रहरी चुपलागेर बस्दैनन्, नियम नमान्ने चालक तथा व्यवसायीलाई कडाभन्दा कडा सजाय दिने छौं,’ उनले क्यापिटल नेपालसँग कुरा गर्दै भने ।
अब मोटरसाइकल चालकसहित पछाडि बस्ने यात्रुले पनि हेलमेट लगाउनु पर्ने नीति ल्याइँदै छ । विश्वका प्रायः मुलुकमा बाइकमा बस्ने दुवै जनाले हेलमेट लगाउनु पर्ने नियम छ, तर नेपालमा केही वर्षदेखि यो अवधारण आएपनि कुनै पहल हुन नसकेको उनले बताए । ‘अब त्यो अवस्था सिर्जना हुन दिन्नौं,’ एसएसपी पन्तले भने, केही दिनभित्र मन्त्रालय, यातायात व्यवस्था विभाग तथा महाशाखाको बृहत् छलफलपछि उपत्यकाका दुईपाङ्ग्रे सवारीसाधनको व्यवस्थापन गरिनेछ ।’
‘अहिले बजारमा कान फुट्ने गरी मोटरसाइकल हुइँक्याउने गरेका छन् । तर अब त्यस्तो हुँदैन, नियम कानुनमा बस्नै पर्छ,’ उनले भने । यस्तो कदम गत वर्षहरुमा पनि नभएका होइनन् तर सरकारी निकाय तथा चुस्त नियमकानुनको अभावले मिसन सफल हुन सकेन ।
अहिले राजधानीमा चारपाङ्ग्रेको तुलनामा दुईपाङ्ग्रे साधन तीन गुणा बढी छन् । अझ थपिने क्रममा रहेकाले सडक दुर्घटना, मृत्यु तथा जाम वृद्धि हुनसक्ने पन्तको भनाइ छ ।