कालीगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउन जनप्रतिनिधिको माग

एक हजार दुई सयभन्दा बढी मेगावाट विद्युत् उत्पादन क्षमता अनुमान गरिएको उक्त आयोजना बागलुङ र पर्वतको सीमानामा ड्याम बनाएर ८ किमी लामो सुरुङबाट बनाउने गरी अध्ययन भइसकेको थियो । रन अफ दि रिभर प्रवाहको उक्त आयोजना कालीगण्डकी आसपासका क्षेत्र प्रभावित हुनेछन् ।

सरकारले २०७५/०७६ को बजेटमा समावेश गरेको कालीगण्डकी बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउन स्थानीय सरकारका जनप्रतिनिधि र स्थानीयले माग गरेका छन् । बागलुङ, म्याग्दी, स्याङ्जा र गुल्मी जिल्लाका जनप्रतिनिधि तथा स्थानीयहरुले आयोजना निर्माणको प्रक्रिया चाँडै अगाडि बढाउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसमक्ष माग राखेका हुन् ।

एक हजार दुई सयभन्दा बढी मेगावाट विद्युत् उत्पादन क्षमता अनुमान गरिएको उक्त आयोजना बागलुङ र पर्वतको सीमानामा ड्याम बनाएर ८ किमी लामो सुरुङबाट बनाउने गरी अध्ययन भइसकेको थियो । रन अफ दि रिभर प्रवाहको उक्त आयोजना कालीगण्डकी आसपासका क्षेत्र प्रभावित हुनेछन् ।

बहुउद्देश्यीय विकास जस्तैः ऊर्जा, सिँचाइ, र्याफ्टिङबाट जनतालाई अधिकतम लाभ दिने हिसाबले आयोजना निर्माण हुनुपर्ने बागलुङका प्रतिनिधि सभा सांसद डा सूर्य पाठकले बताए । उनले आयोजना पर्वत र बागलुङको सीमानामा बनाउन छिट्टै नै विज्ञसहितको सम्भाव्यता अध्ययन समिति बनाउनुपर्ने औंल्याए । ‘पहिलो चरणमा सम्भाव्यता अध्ययन गर्नुपर्छ । त्यसका लागि विज्ञहरुको सम्भाव्यता अध्ययन समिति बनाई अगाडि बढाउन माग गरेका छौँ,’ उनले भने, ‘सरकार र मन्त्रालयसँग छलफल र सहमति भएको छ । आयोजना बन्नुपर्छ भनेर बारम्बार माग गर्दै आएका छौँ ।’

यसअघि नै बागलुङ, पर्वत, म्याग्दी र स्याङ्जाका प्रतिनिधि सांसदले आयोजना अगाडि बढाउन बजेट विनियोजन गरी निर्माण प्रक्रिया सुरु गर्न आग्रह गर्दै आएका थिए ।

सरकारले बजेट विनियोजन गरेकाले पनि आयोजनाको काम यसै वर्षदेखि अगाडी बढ्ने सांसद पाठकले बताए । आगामी एक वर्षभित्रै आयोजनाको विस्तृत अध्ययन सम्पन्न गरी कार्यान्वयनको प्रक्रियामा बढाउने भनेर सरकारले बजेटमा उल्लेख गरेको छ ।