विद्युतीय चुहावट रोक्न स्थानीय प्रशासन र प्राधिकरण जुट्दै

शुक्रबार मात्रै काभ्रे र सप्तरीमा दुई वडाध्यक्ष समेतलाई प्रहरीले पक्राउ गरेको थियो । काभ्रेबाट विद्युत् चोरी गर्ने एक जना प्रधानाध्यापकलाई समेत पक्राउ गरिएको प्राधिरकणले जनाएको छ ।

केही दिनअघि गृहमन्त्री रामबहादुर थापाले विद्युत् चोरी गर्ने व्यक्तिको विवरण सङ्कलन गरी पठाउन आग्रह गरेपछि देशैभरिबाट स्थानीय प्रशासन र प्राधिकरणका शाखा कार्यालयको समन्वयमा पक्राउ गर्न थालिएको छ । शुक्रबार मात्रै काभ्रे र सप्तरीमा दुई वडाध्यक्ष समेतलाई प्रहरीले पक्राउ गरेको थियो । काभ्रेबाट विद्युत् चोरी गर्ने एक जना प्रधानाध्यापकलाई समेत पक्राउ गरिएको प्राधिरकणले जनाएको छ ।

यसअगाडि नै बर्दिया जिल्लाको मधुवनी नगरपालिका—२ का वडाध्यक्ष पहाडी थारु पनि पक्राउ परी रिहा भइसकेका छन् । गृहमन्त्रीको निर्देशन पश्चात् वडाध्यक्षसहित दुई दर्जन व्यक्ति नियन्त्रणमा लिइसकिएको प्राधिकरणका वितरक तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानले जानकारी दिए । उनले विद्युत् चोरी गर्ने तथा आयोजना निर्माणमा लापरबाही गर्नेलाई दैनिक नियन्त्रणमा लिइरहेको बताए । ‘विद्युत् चोर्नेलाई स्थानीय प्रशासन र प्रहरीको समन्वयमा नियन्त्रणमा लिइरहेका छौँ,’ उनले भने, ‘गृहमन्त्रीको आदेशपछि त धमाधम पक्राउ पर्न थालेका छन् ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चोरी गर्नेलाई कानुनबमोजिम कारबाही र क्यापासिटर बैङ्क नराख्ने उद्योगमा विद्युत् काटिने बताउँदै आएका छन् । उनले उद्योग क्षेत्रमा देखिएको लाइन ट्रिपिङ समस्या समाधान गर्न उद्योग आफैँले क्यापासिटर बैङ्क अनिवार्य रुपमा राख्नुपर्ने बताएका छन् । प्राधिकरणले गरेको अनुगमनमा एक सय ४० उद्योगमध्ये ४३ ओटा उद्योगमा मात्रै क्यापासिटर बैङ्क राखिएको पाइएको हो । क्यापासिटर बैङ्क नराखेका उद्योगलाई निश्चित समय दिएर राख्न लगाइएको र निर्देशनको पालन नगरे त्यस्ता उद्योगमा विद्युत् काटिने समेत उनले बताए ।