विश्वकपको महाकुम्भ मेला चलिरहेका बेला प्रभु समूहले प्रभु डिजिटल टीभीको सेवा सुरु गरेको छ । प्रभु टीभीले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रसारण (डीभीपी–टी २) मा आधारित सेवा विस्तार गरेको हो ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले सेवाको प्रदर्शन गरी प्रभु टेलिभिजनको उद्घाटन गरेका हुन् । सूचना प्रविधिको विकासको क्रमसँगै ओटीटी प्रणालीमा आधरित भएर माेबाइल, ट्याब्लेट तथा ल्यापटपमा समेत आफूले छानेको च्यानल हेर्न सकिने जनाइएको छ ।
प्रभु ग्रुपका अध्यक्ष भट्टचनले यो प्रविधि सुरु गर्ने सार्क राष्ट्रमै नेपाल पहिलो भएको बताए । ‘सार्क राष्ट्रमै नेपाल पहिलो हो,’ उनले भने, ‘यो पुरानो प्रविधिको नयाँ जेनेरेसन हो ।’ प्रभु टीभीको औपचारिक सुरुआत गर्दैै भट्टचनले भने ‘इटहरी, धरान, विराटनगरलगायतका ठाउँमा तीन महिनाभित्र सेवा सुरु हुन्छ ।’ हाल काठमाडौं, पोखरा र चितवनमा सेवा सुरु भएको छ । त्यसैगरी, निकट भविष्यमै भैरहवा, बुटवल, नेपालगन्ज, दाङमा पनि सेवा सुरु गर्ने उनको भनाइ छ ।
सरकारबाट लाइसेन्स प्राप्त संस्थाले प्रभु टेलिभिजन कल साईन देशव्यापी रुपमा ३ सय ६५ दिन नै उच्च गुणस्तरीय च्यानलहरुको प्रशारण सेवा प्रदान गर्ने बताइएको छ । प्रभु टीभीको कलसाईन मार्फत डीभीपी–टी २ प्रविधिमा आधारित भएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टीभी च्यानलहरु तथा ओटीटी प्रविधिमा देशैभर वितरण गर्ने जनाइएको छ ।
प्रभु टेलिभिजनको आधिकारिक सेटअफ बक्स र जडान गर्न सहज एनटिनाको खरीदसँगै ग्राहलाई सबै स्थानिय प्रशारित टीभी च्यानलहरुको पहुँच हुने प्रभु समूहका अध्यक्ष भट्टचनले जानकारी दिए । प्रभु टेलिभिजनले हाल बालबालिका, चलचित्र, खेलकुद, संगीत, मानोरन्जन, सूचनामुलकलगायत विभिन्न च्यानल देखाउने जनाइएको छ ।
सेवाग्राहीलाई ध्यानमा राखेर प्रभु टिभिले विभिन्न नयाँ प्याकेज समेत ल्याएको छ । प्रभुले एकल प्रयोगकर्ताको हकमा ६ महिनाको शुल्क एक हजार ६ सय, तथा सेटअप बक्सबापत एक हजार रुपैयाँ तथा संस्थागत प्रयोगकर्ताको लागि मासिक २ सय, सेटअप बक्सलाई ८ सय पर्ने जनाइएको छ ।