नेपाल आएर घुमेर गएका पर्यटकबाट कार्डमार्फत पैसा लिएपनि सयभन्दा बढी पर्यटकको दुई करोडभन्दा बढी रकम होटल तथा ट्राभल एजेन्सीलाई अल्पाइन कार्ड सर्भिसले भुक्तान नगरेको हो ।
नेपाल घुम्ने विदेशी पर्यटकले होटल तथा ट्राभल एजेन्सीलाई तिर्ने बिलको रकम कार्डबाट लिएर पनि अल्पाइन कार्ड सर्भिसले सम्बन्धित होटल तथा ट्राभल एजेन्सीलाई भुक्तान गरेको छैन ।
नेपाल आएर घुमेर गएका पर्यटकबाट कार्डमार्फत पैसा लिएपनि सयभन्दा बढी पर्यटकको दुई करोडभन्दा बढी रकम होटल तथा ट्राभल एजेन्सीलाई अल्पाइन कार्ड सर्भिसले भुक्तान नगरेको हो ।
नेपाल घुम्न आउने पर्यटकले नेपालको घुमफिरलगायत विभिन्न खर्च कार्डमार्फत तिर्ने र त्यो कार्ड प्रयोग गरेर विदेशी बैङ्कबाट रकम निकाल्ने अल्पाइन कार्ड सर्भिसले प्राविधिक कारण देखाउँदै कार्ड प्रयोग गरेर निकालेको रकम लामोसमयसम्म भुक्तान नगर्दा समस्या भएको पर्यटन व्यवसायीहरुले बताएका छन् ।
‘अल्पाइनले पर्यटकबाट कार्डमार्फत रकम लिने तर होटल तथा ट्राभल एजेन्सीलाई भुक्तान नगर्दा व्यवसायीहरुलाई समस्या भएको छ,’ क्षेत्रिय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले भने । अल्पाइनले पर्यटकबाट लिएको रकम तीन महिनासम्म पनि होटल तथा ट्राभल एजेन्सीलाई भुक्तान नगरेको पाइएको उनले बताए । पर्यटकले नगद नबोकी कार्डमार्फट ट्राभल र होटलको बिल तिर्छन्, त्यो कार्ड स्वाइप गर्न अल्पाइनको सेवा प्रयोग गर्दा अल्पाइनले रकम लिएर पनि भुक्तान गरिरहेको छैन, उनले भने । अल्पाइनले कार्ड स्वाइप गरेपछि विदेशी बैङ्कमार्फत ३ दिनदेखि १ हप्तामा पैसा पाउँछ तर होटल तथा ट्राभल एजेन्सीलाई समयमा नतिरेकाले व्यवसायमा समेत असर हुन थालेको उनले बताए ।
अल्पाइन कार्ड सर्भिसका मार्केटिङ प्रमुख केशव श्रेष्ठले कम्पनीमा अहिले आन्तरिक समस्या भएकाले समयमा नै पेमेन्ट दिन नसकेको स्वीकार गरे । ‘यस विषयमा व्यवस्थापनले काम गरिरहेको छ, चाँडै नै समयमा भुक्तान हुने गरी काम हुन्छ,’ उनले भने, ‘सय जना क्लाइन्टलाई पैसा दिन बाँकी हो, तर २ करोड जति होइन ।’
मेघा एडभेन्चरका गणेश शर्माले पनि अल्पाइनले लामोसमयदेखि पैसा अड्काएर राखिदिने गरेको बताए । ‘हाम्रो क्लाइन्टबाट लिएर हामीलाई दिनुपर्ने रकम दुई महिनासम्म दिएन,’ उनले भने, ‘हामीले पनि विभिन्न ठाउँमा तिर्नुपर्ने हुन्छ, तर रकम नदिँदा समस्या हुने गर्छ ।’
अल्पाइनले विदेशी पर्यटकको कार्ड स्वाइप गरेवापत ३.५ प्रतिशत कमिशन लिँदै आएको छ । अल्पाइनसँग अहिले ३ हजार क्लाइन्ट छन् ।