दुई महिनाभित्र शिवम सिमेन्टको दुई अर्बको आईपीओ

कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत अर्थात् ४४ लाख कित्ता सर्वसाधारणलाई र २ प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता सेयर स्थानीयबासी (आयोजना प्रभावित)लाई विक्री गर्नेछ । यो सेयर बिक्री गर्दा दुई अर्ब दुई करोड ४० लाख रुपैयाँ कम्पनीलाई प्राप्त हुन्छ ।

नेपाल धितोपत्र बोर्डले शिवम सिमेन्टलाई अङ्कित मूल्यमा थप प्रिमियमसहित साधारण सेयर बिक्री गर्न बिहीबार अनुमति दिएको छ । बोर्डले शिवमलाई स्थानीय प्रभावित बासिन्दाका लागि अङ्कित मूल्य १०० मा थप २ सय प्रिमियम गरी प्रतिकित्ता ३ सय र सर्वसाधारणका लागि अङकित मूल्यमा ३ सय रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता ४ सय रुपैयाँमा प्राथमिक निष्कासन (आईपीओ) का लागि अनुमति दिएको हो ।

बोर्डले अनुमति दिएको दुई महिनाभित्र कम्पनीले सेयर जारी गरिसक्नुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा छ । प्राथमिक निष्कासनमै प्रिमियम मूल्य तय भएको सम्भवतः यो पहिलो पटक हो ।

उत्पादनमूलक उद्योगको सेयर सर्वसाधारणलाई विक्री गर्न बोर्डले यसअघि नियमावलीमा परिवर्तन गरेको थियो । नियमावली परिवर्तनपछि सेयर जारी गर्न अनुमति पाउने शिवम पहिलो कम्पनी हो । यसअघि निकै थोरै मात्र उत्पादनमूलक कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन् । अहिले नेप्सेमा युनिलिभर नेपालको सेयर मूल्य सबैभन्दा बढी प्रतिकित्ता २७ हजार १९ रुपैयाँ छ । कुनै बेला यसको सेयर मूल्य ४४ हजार प्रतिकित्ताभन्दा माथि पुगेको थियो ।

कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत अर्थात् ४४ लाख कित्ता सर्वसाधारणलाई र २ प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता सेयर स्थानीयबासी (आयोजना प्रभावित)लाई विक्री गर्नेछ । यो सेयर बिक्री गर्दा दुई अर्ब दुई करोड ४० लाख रुपैयाँ कम्पनीलाई प्राप्त हुन्छ ।

सेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ । वास्तविक क्षेत्रका कम्पनीलाई सर्वसाधारणमा लैजान सरकारले गरेको प्रोत्साहन अनुरुप शिवम अघि सरेको हो । सर्वसाधारणलाई पनि साझेदार बनाउँदै उद्योग प्रभावित क्षेत्रका सर्वसाधारणलाई कम्पनीको हिस्सेदार बनाउँदा कम्पनी चलाउन सहज हुने कम्पनीको विश्वास छ । स्थानीयबासी र सर्वसाधारणलाई प्रिमियममा सेयर विक्री गर्दा ठूलो रकम प्राप्त हुने भएकाले सो रकम कम्पनीको क्षमता बृद्धि गर्न प्रयोग हुनेछ ।

२०७४ चैत ६ गते उद्योग प्रभावित क्षेत्र र सर्वसाधारणका लागि सेयर जारी गर्न शिवमले बोर्र्डमा आवेदन दिएको थियो । ७ वर्षअघि ४ अर्ब लगानीमा खोलिएको शिवम् सिमेन्टले ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । दैनिक १ हजार ९ सय टन क्लिङ्कर उत्पादन क्षमता भएको शिवम हटौंडाको हटियामा सञ्चालित छ । उद्योगको दैनिक उत्पादन क्षमता ३ हजार टन सिमेन्ट छ । शिवमको आफ्नै क्लिङ्कर खानी छ ।

आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले उत्पादनमूलक क्षेत्रका उद्योगहरुले सर्वसाधारणमा सेयर जारी गरे कर छुट दिने लगायतका नीति अघि सारेको छ । ५० करोड रुपैयाँभन्दा बढी आयोजनाले सर्वसाधारणमा सेयर बिक्री गरे ३ वर्षसम्म १० प्रतिशत आयकर छुट दिने बजेटमा उल्लेख छ ।

त्यसैगरी अर्थमन्त्री डा युवराज खतिवडाले १ अर्बभन्दा बढी लगानी भएका निजी कम्पनीहरुलाई पनि सर्वसाधारणमा सेयर जारी गर्न प्रोत्साहन गरिने बताएका छन् ।