ठूला यातायात समितिको अटेरीपन : कम्पनी मोडलमा जान आनाकानी

यातायात व्यवस्था विभागका अनुसार पश्चिम नेपाल यातायात व्यवसायी सङ्घ, नारायणी यातायात व्यवसायी सङ्घ, अरनिको यातायात, पृथ्वीराजमार्ग बस व्यवसायी सङ्घलगायत अन्य समितिहरुले अझै पनि विभागमा कम्पनी दर्ता गरेर पञ्जीकरण गरेका छैनन् । अरनिको बस व्यवसायी सङ्घले कम्पनी रजिष्ट्रारको कार्यलायमा कम्पनी दर्ता गरे पनि विभागमा पञ्जीकरणका लागि भने नगएको विभागले जनाएको छ ।

सरकारले सिन्डिकेट विस्थापन भएको बताइरहँदा मुलुकका ठूला यातायात समिति कम्पनी मोडलमा जान अटेर गरिरहेका छन् ।

सरकारले साउनबाट यातायात समितिको नवीकरण रोक्ने निर्णय गरे पनि ठूला यातायात समितिहरुले अझै पनि यातायात विभागमा कम्पनी पञ्जीकरणमा चासो दिएका छैनन् । यातायात क्षेत्रमा सिन्डिकेट गर्दै आइरहेका यातायात व्यवसायी यतिबेला पुनः सिन्डिकेट बिउँताउने तरखरमा रहेको सङ्केत देखिन्छ ।

यातायात व्यवस्था विभागका अनुसार पश्चिम नेपाल यातायात व्यवसायी सङ्घ, नारायणी यातायात व्यवसायी सङ्घ, अरनिको यातायात, पृथ्वीराजमार्ग बस व्यवसायी सङ्घलगायत अन्य समितिहरुले अझै पनि विभागमा कम्पनी दर्ता गरेर पञ्जीकरण गरेका छैनन् । अरनिको बस व्यवसायी सङ्घले कम्पनी रजिष्ट्रारको कार्यलायमा कम्पनी दर्ता गरे पनि विभागमा पञ्जीकरणका लागि भने नगएको विभागले जनाएको छ ।

कम्पनी मोडलमा नगएका, अटेर गरी बसेका बस समितिहरु पनि कम्पनी मोडलमा आउने विश्वास रहेको विभागका प्रवक्ता तुलसीराम अर्याल बताउँछन् । उनका अनुसार आगामी आर्थिक वर्षको सुरुआतसँगै देशभरका सवारीलाई व्यवस्थापन गर्ने उद्देश्य रहेकाले असार मसान्तसम्म कम्पनी मोडलमा नआए रुटपर्मिट नदिइने र तिनले अन्य सेवा सुविधा पनि पाउने छैनन् ।

‘यातायात क्षेत्रलाई सेवामूलक बनाउन तथा सहजीकरण गर्न कम्पनी मोडलमा नआउने समिति तथा व्यवसायीसँग छलफल र समन्वय गर्न सरकारी पक्ष सदैव तयार छ,’ उनले क्यापिटल नेपालसँग कुरा गर्दै भने । नियम कानुनमा रहेको कुरा कार्यान्वयनमा ल्याउन तथा प्रक्रियागत हिसाबमा जान सरकार सदैव सकारात्मक रहेको उनको भनाइ छ ।

हालसम्म विभिन्न कम्पनीका तीन सय दस ओटाभन्दा बढी सार्वजनिक बस पञ्जीकृत भइसकेका छन् भने उपत्यकामा चल्ने साना ठूला सवारीले पञ्जीकरण गर्ने क्रमजारी रहेको अर्यालले बताए । अहिलेसम्म दर्ता गर्न अटेर गर्ने समितिहरु आगामी साउनदेखि स्वतः खोरजीमा पर्नेछन् । तर, ती समितिहरु अहिलेसम्म पनि विभागमा पञ्जीकरणका लागि नआएको प्रवक्ता अर्यालले जानकारी दिए ।

यातायात व्यवस्था विभागका अनुसार हाल एक सय ८३ भन्दा बढी कम्पनीमात्र दर्ता भएका छन् । नियमअनुसार आगामी आर्थिक वर्षको सुरुमा नै सबै समिति कम्पनीमा जानै पर्छ । साझा, अन्नपूर्ण, अटोवेज र बाबा गोकर्णेश्वर यातायातले कम्पनी मोडलमा पञ्जीकृत हुँदै सेवा दिएका छन् ।

यस्तै, चुरियामाई यातायात, घोडाघोडी, बालाजु तारकेश्वर ,मयूर यातायात, हेलम्बु, महानगर यातायात कम्पनीअन्तर्गत सञ्चालन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । १५ ओटाभन्दा कम बस सञ्चालनमा ल्याउने ७१ ओटा कम्पनी रहेको विभागले जनाएको छ ।