लेखक खोज्दै प्रकाशक

एक समय थियो, गोरखापत्र संस्थानअन्तर्गत छापिने मधुपर्क हजारौं प्रति बिक्री हुन्थ्यो । त्यस्तै थियो, साझा प्रकाशनको मासिक पत्रिका गरिमाको साख पनि । साझाबाट कुनै कृति प्रकाशन गर्न पाउनु लेखकका लागि ठूलो पुरस्कार पाएसरह थियो । त्यतिखेर पुस्तक छापिनुलाई ठूलो मानिन्थ्यो । पुस्तक छापेर रोयल्टी पाइएला भन्ने आशा पनि लेखकले सायदै गर्थे । तर पुस्तक व्यवसायमा निजीक्षेत्रको आक्रामक बजार रणनीतिसँगै लेखकहरु यतातर्फ बढी आकर्षित भएका छन् ।

एक जमाना थियो— लेखकका लागि आफ्नो कृति प्रकाशन गरिदिने संस्था पाउनै ‘महाभारत’ हुन्थ्यो । पाण्डुलिपि बोकेर प्रकाशन संस्था खोज्दै हिँड्नुपर्ने अवस्था थियो । प्रकाशन गरिदिए पनि त्यसबापतको पारिश्रमिक दुर्लभप्रायः हुन्थ्यो । पाण्डुलिपि बुझाइहाले पनि प्रकाशन अवधिसम्मको समय नै एकदुई वर्ष हुन सक्थ्यो ।

कतिपय अवस्थामा आफैं प्रकाशन गरेर त्यसको बजारीकरणको व्यवस्थापनमा समेत लेखक सहभागी हुनुपर्ने बाध्यात्मक परिस्थिति थियो । एकाधबाहेक पुस्तकका पाठक साहित्यकार मात्रै हुन्थे । पाठ्यक्रममा समाविष्ट पुस्तकका पाठक राम्रै भए पनि अन्य लेखकले पाठक नपाउने अवस्था थियो । तर अहिले अवस्था फेरिएको छ । अवस्था फेरिएको मात्र छैन, व्यावसायिक प्रकाशन संस्थाहरु राम्रा लेखकलाई ‘गतिलो पारिश्रमिक’ दिएर पुस्तक लेखाउने प्रतिस्पर्धामा छन् । दुईचार दिनदेखि महिना, दुई महिनासम्म लेखकलाई बाहिर कतै पठाएर पुस्तक लेखाउने अर्काे अभ्याससमेत सुरु भएको छ । त्यति मात्र होइन, लेखकलाई अग्रिम रुपमा ठूलो रकम दिएर आआफ्ना प्रकाशन संस्थामा आबद्ध गराउने र टिकाउने अभ्यासमा नेपालका प्रकाशन संस्था लागिपरेका छन् ।

नेपालीहरुमा बढ्दै गएको पठन संस्कृति, पुस्तक व्यवसायले उद्योगको रुप लिँदै गरेको अवस्था, पुस्तकको ब्रान्डिङ, विज्ञापनमा गरिएको ठूलो लगानी, पुस्तक विमोचनअघि नै गरिने टिजर, कभर लन्च, पत्रपत्रिकामा फुल पेज विज्ञापन आदिले पनि यो व्यवसाय फरक किसिमले अघि बढ्दै गएको आभास हुन्छ । नेपालमा पठन संस्कृति बढ्दै गएको हो ? के नेपाली पुस्तक व्यवसायले व्यावसायिक रुप लिएकै हो ? व्यावसायिक रुप लिएको हो भने यसका पछाडिको कारण के हो ?

फाइनप्रिन्टका अजित बराल भन्छन्, ‘पुस्तक व्यवसायले पूर्णतया व्यावसायिक रुप लिइसकेको छैन, त्यो क्रममा भने छ, जुन सकारात्मक हो ।’ विभिन्न पत्रपत्रिकाले साहित्यिक विषयमा प्रकाशन गर्ने परिशिष्टाङ्क, पुस्तक समीक्षाका लागि उपलब्ध गराउने ‘स्पेस’ र नेपालमा बढ्दै गएको साक्षरताका कारण पनि पठन संस्कृति बढेको उनको भनाइ छ । यससँगै पुस्तक व्यवसायले व्यावसायिकतातर्फको यात्रा तय गर्न लागेको उनले बताए । ‘समयसमयमा आयोजना हुने लिटरेचर फेस्टिभल, साहित्यिक गोष्ठी आदिले पनि नेपालमा पठन संस्कृतिको विकासमा योगदान दिएका छन्,’ उनले भने, ‘नेपालमा बढ्दै गएको साक्षरता दरका कारण पनि पुस्तकको बिक्रीदर बढेको हो । अहिले नेपालमा ९४ प्रतिशत युवा साक्षर छन् । उनीहरुमध्ये धेरैजसोले साहित्यिक पुस्तक रुचाएको पाएका छौं ।’ यससँगै युवाको रुचिका पुस्तक आएको र प्रकाशन संस्थाहरुले पनि बजारको माग हेरी पुस्तक प्रकाशन गर्न थालेकाले पुस्तक व्यवसायको पारो उकालो लागेको उनले बताए ।

साठीको दशकदेखि उकालो लागेको पुस्तक व्यवसाय अहिले उत्कर्षको अवस्थामा छ । नयाँनयाँ प्रकाशन संस्था थपिने क्रम बढ्दो छ । केही लेखकले लेखेरै जीवन यापन गर्न सक्ने अवस्था आएको छ । ‘त्यो त हो । नेपालमा लेखेरै बाँच्न सक्ने लेखक भने सीमित छन्,’ बरालले भने, ‘केही निश्चित लेखक, जसको लेखाइ उत्कृष्ट छ, उनीहरुले वर्ष दिन अथवा दुई वर्षमा एउटा पुस्तक प्रकाशन गर्ने र लेखनलाई निरन्तरता दिएका छन् । यसबाट उनीहरुले मध्यमवर्गीय जीवन यापन गर्न सकेका छन् ।’

लेखक बढिरहेका छन् । अहिले विशेषगरी छिटफुट रुपमा गजल एवम् कवितासङ्ग्रह र बढी मात्रामा उपन्यास एवम् आत्मवृत्तान्त लेखनको बाढी आएको छ । गोस्टराइटिङ गराएर किताब तयार पार्नेहरुको जमात पनि ठूलै छ । ‘लेखकको सङ्ख्या बढे पनि उत्कृष्ट लेख्ने लेखक औंलामा गन्न सकिने अवस्थामा छन्,’ बरालले भने, ‘त्यसैले सबै लेखकले लेखनबाटै जीवन गुजार्न सक्ने अवस्था भने छैन ।’

प्रकाशनको काम पहिला पनि व्यावसायिक रहेको बुकहिलका भूपेन्द्र खड्का बताउँछन् । ‘पहिले पनि पुस्तक व्यावसायिक थियो । तर त्यतिखेर प्रकाशन संस्था धेरै थिएनन् । साझा र प्रज्ञा–प्रतिष्ठानले पुस्तक प्रकाशन गरिरहेका थिए,’ उनले भने । तर पछिल्लो समय पुस्तक व्यवसायमा निजीक्षेत्रको लगानी बढ्दै गएपछि व्यावसायिक रुपले व्यापकता पाएको उनको भनाइ छ । ‘अहिले प्रकाशनमा आएका पुस्तकको क्वालिटी, विषयवस्तु आदिमा पनि उत्कृष्टता आएको छ । साथै नेपाली पुस्तक अन्तर्राष्ट्रिय गुणस्तरमा छापिन थालेका छन्,’ खड्काले भने, ‘त्यसैले अङ्ग्रेजी साहित्यमा रुचि भएका व्यक्ति पनि यतातर्फ आकर्षित भएका छन् ।’ र यसले रिडरसिप पनि बढाएको उनले बताए ।

प्रकाशन संस्थाहरुले लेखकलाई केही समयका लागि बाहिर छुट्टै स्थानमा पुस्तक लेख्न पठाउने गरेको बुकहिलका खड्काको स्वीकारोक्ति छ । ‘संसारभरि नै यस्तो टे«ेन्ड छ,’ उनले भने, ‘नेपालमा पनि त्यस्तै भएको हो । यो स्वाभाविक पनि हो । किनभने लेखकलाई पारिवारिक वातावरणबाट केही दिन बाहिर पठाउँदा उसमा अन्तर्निहित क्षमता थप उर्वर हुने मौका पाउँछ । त्यसैले उनीहरुलाई कहिलेकाहीँ यस्तो सुविधा आवश्यक हुन्छ ।’
आफूहरुले कहिलेकाहीँ लेखकलाई रिफ्रेसमेन्टका कार्यक्रम गर्दै आएको उनको भनाइ छ । पहिले पुस्तक छापेर घरघरमा गई मेरो पुस्तक छापिएको छ, पढिदिनुहोला भन्नुपर्ने अवस्था थियो । तर अहिले लेखकका पुस्तक हजारौं कपी बिक्री हुने गरेका छन् । ‘यो वास्तवमै सुखद विषय हो,’ खड्काले भने, ‘मिडिया, सामाजिक सञ्जाल, बढ्दो जनसङ्ख्या र साक्षरता दरले पनि नेपालमा पठन संस्कृति बढेको हो ।’ मानिसमा बढ्दै गएको चेतनास्तरका कारण पनि पुस्तक व्यवसाय बढेको उनले बताए ।

मदन पुस्तकार विजेता लेखक अमर न्यौपानेको धारणा फाइनप्रिन्टका बराल र बुकहिलका खड्कासँग मिल्दोजुल्दो छ । उनी भन्छन्, ‘विशेषगरी नेपाली पुस्तक व्यवसाय साठीको दशकपछि व्यावसायिकतातिर अघि बढेको हो । तर विश्वेश्वरप्रसाद कोइरालाको ‘जेल जर्नल’ प्रेसबाटै सकिएको थियो । त्यस्ता केही उदाहरण भने छन् । साठीको दशकअघि पनि पुस्तक व्यवसायले व्यावसायिकताको सङ्केत देखाएको थियो ।’

अन्तर्राष्ट्रिय स्तरका पुस्तक नेपालमै छापिन थाल्नुले यसको व्यावसायिकतालाई उचाइतर्फ लगेकोमा उनको पनि स्वीकारोक्ति छ । ‘फाइनप्रिन्ट, नेपालय, साङ्ग्रिला, बुकहिल, फिनिक्सलगायत प्रकाशन गृहले पुस्तक छपाइमा ल्याएको परिवर्तनसँगै नेपाली पुस्तक व्यवसाय व्यावसायिक बनेको हो,’ न्यौपानेले भने, ‘पेनगुइन, रुपा, ¥यान्डम बुक हाउसलगायत अन्तर्राष्ट्रिय पब्लिकेसन हाउसले प्रकाशन गर्ने पुस्तकको गुणस्तर नेपालकै प्रकाशन गृहमा पाइन थालेपछि नेपाली पुस्तकका पाठक पनि बढ्दै गएका हुन् । पाठक बढेका मात्रै छैनन्, पुस्तकको गुणस्तरका आधारमा बिक्री बढ्ने गरेको छ । पहिले पाठ्यक्रममा समाविष्ट पुस्तक मात्र बढी बिक्री हुने अवस्था थियो । तर अहिले त्यस्तो छैन । पुस्तकको गुणवत्ताका आधारमा बिक्री बढेको छ ।’

उपहारमा पुस्तक
यसअघि अन्य वस्तु उपहारस्वरुप दिने गरिए पनि पछिल्लो समय उपहारमा पुस्तक दिने चलन बढ्दै गएको छ । अन्य वस्तु दिए केही समयपछि त्यो नाश हुने अथवा बिग्रिने अवस्था आउने तर उपहारमा पुस्तक दिँदा त्यसले मानिसलाई दीर्घकालीन प्रभाव पार्ने भएकाले यसतर्फ मानिसको आकर्षण बढ्दै गएको फाइनप्रिन्टका बरालको भनाइ छ । ‘पुस्तकबाट प्राप्त ज्ञान दीर्घकालीन हुन्छ,’ उनले भने, ‘अन्य वस्तु उपहारमा दिँदा त्यो छिट्टै बिग्रिने हुन सक्छ । त्यसैले पनि पुस्तक उपहार दिने क्रम बढेको हो । मानिसको चेतनाको स्तर विकास गरिदिने पुस्तक उपहारमा दिनु वास्तवमै राम्रो कुरा हो ।’

बरालको विचारमा बुकहिलका खड्का पनि सहमत छन् । उनका अनुसार उपहारमा पुस्तक दिने चलन अझ प्रभावकारी रुपमा अघि बढाउने हो भने पुस्तक व्यवसाय त विस्तार हुन्छ नै, सँगै मानिसको चेतना स्तर विकासमा पनि यसले सघाउँछ । ‘यस्ता विकासका सकारात्मक अभियान सबैले सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘त्यो अन्ततः देश विकासमै सहयोगी साबित हुन सक्छ ।’ जन्मदिन, विवाह, वैवाहिक वार्षिकोत्सव आदि र हस्पिटलमा उपचाररत बिरामीलाई समेत उपहारस्वरुप पुस्तक लगिदिने चलन बढेकोमा लेखक न्यौपाने खुसी छन् । ‘मैले नै कतिपय बिरामी भेट्न जाँदा पुस्तक लगिदिएको छु,’ उनले भने, ‘फलफूल, जुस आदि त अरुले लगिदिइहाल्छन् नि । तर उपहारमा पुस्तक लगिदिएपछि त्योभन्दा पनि बढी खुसी भएको पाएको छु ।’

लेखक सेलेब्रिटी, कन्सर्ट र कार्यक्रममा विदेश यात्रा
पुस्तक व्यवसायले उद्योगको रुप लिँदै गर्दा लेखकहरु सेलेब्रिटी बनेका छन् । फिल्म आदिमा अभिनय गर्ने हिरोहिरोइनहरुका ठूलो सङ्ख्यामा फ्यान भएजस्तै लेखकका पनि आफ्नै फ्यान छन् । उनीहरुका व्यक्तिगत फेसबुक, ट्विटर, इन्स्टाग्राम आदिमा देखिएका फलोअरले पनि यसको पुष्टि गर्छन् । उनीहरुले सामाजिक सञ्जालकै माध्यमबाट पनि पाठकसँग अन्तक्र्रिया गरिरहेका हुन्छन् । पुस्तक सार्वजनिक भएकै दिन लेखकबाट हस्ताक्षरित पुस्तक किन्नेहरुको लर्काे लाग्ने गरेको छ । सँगै लेखकसँगका सेल्फीलाई पनि फलोअरहरुले सामाजिक सञ्जालमा पोस्ट गरेको पनि देखिन्छ ।

यससँगै आफ्ना कृतिको प्रचारप्रसार एवम् विभिन्न कार्यक्रमका लागि कतिपय लेखकलाई विदेशबाट निम्तो आउने क्रम पनि बढेको छ । एक वर्षअघि ‘सगरमाथाको गहिराइ’ कवितासङ्ग्रह प्रकाशन गरेका कवि नवराज पराजुलीलाई युरोपियन मुलुकमा कविता कन्सर्टका लागि निम्तो आयो । उनले विभिन्न देश गएर कविता कन्सर्टसमेत गरे । यस्ता कार्यक्रम देशभित्रै पनि हुने गरेका छन् । यस्ता कार्यक्रमका लागि अन्य चल्तीका लेखक पनि विभिन्न मुलुक जानु अहिले सामान्यजस्तै भएको छ ।

मागेर होइन, किनेरै पढौं पुस्तक
अहिले छुट्टै ट्रेन्ड विकास भएको छ— पुस्तक मागेर होइन, किनेरै पढौं । यस्तो चलनले अन्ततः व्यावसायिकतालाई नै प्रोत्साहन गरेको छ । यसबाट लेखकलाई फाइदा त पुग्छ नै, साथै किनेर पढेको पुस्तकप्रति मानिसको मोह पनि बढ्छ । पुस्तकलाई उत्पादनका रुपमा हेरेर त्यसलाई किनेरै पढ्नुपर्छ भन्ने मान्यता विकास भएसँगै यो व्यवसायले उद्योगको रुप धारणा गरेको छ । ‘पुस्तकलाई एउटा प्रडक्टका रुपमा मानेर व्यवसायीले त्यसको बजारीकरण गरिरहेका छन्,’ बुकहिलका खड्काले भने, ‘अहिले मानिसमा पुस्तक मागेर पढ्छु भन्दा लजाउनुपर्ने अवस्था आएको छ । जोकोही व्यक्ति अहिले पुस्तक माग्न अघि सरिहाल्दैनन् ।’

हुन पनि हो चाउचाउ पनि एउटा प्रडक्ट हो । सँगै एउटा पुस्तक पनि कुनै प्रकाशन गृहको प्रडक्ट हो । चाउचाउचाहिँ किनेरै खानुपर्ने तर पुस्तकलाई मागेर पढ्ने ? यो स्वाभाविक पक्कै होइन । यही वस्तुतथ्य बुझेर नेपाली पाठकहरु विशेषगरी पुस्तक मागेर होइन, किनेरै पढौं भन्नेतर्फ लागेका हुन् ।

सकियो भूमिका लेखनको युग, एउटै कृतिबाट चर्चित
साठीकै दशकअघिसम्म कुनै चर्चित लेखक, समीक्षकले पुस्तकको भूमिका लेखिदिए त्यो चर्चित हुन्छ भन्ने मान्यता थियो । त्यसैले पुस्तक छाप्नुअघि लेखकहरु लेखक, समीक्षकको घरघर धाउँथे, भूमिका लेखाउन । तर अहिले भूमिका होइन, गुणस्तर र विषयगत प्रस्तुतीकरणका आधारमा पुस्तक चल्ने अवस्था छ । ‘कुनै समय पुस्तकमा साहित्यकार एवम् समीक्षक तारानाथ शर्माले भूमिका लेखिदिए चल्थ्यो,’ मदन पुरस्कार विजेता लेखक न्यौपानेले भने, ‘तर अहिले अवस्था फेरिएको छ, पुस्तकमा भूमिकारुपी टेको आवश्यक छैन । पुस्तकको गुणवत्ताका आधारमा त्यो चल्ने÷नचल्ने मापन हुन थालेको छ ।’

त्यति मात्रै होइन, अहिले चलेका लेखकको पुस्तक मात्र बिक्री हुन्छ भन्ने दृष्टिमा पनि परिवर्तन आएको छ । किनभने जब नारायण वाग्लेको पल्पसा क्याफे बजारमा आयो, उनी सोही पुस्तकबाट चर्चित बने । व्यावसायिकताको पहिलो खुड्किलोका रुपमा वाग्लेको पल्पसा क्याफेलाई लिन सकिने सरोकारवालाहरुको भनाइ छ । त्यति मात्र होइन, अमर न्यौपाने, बुद्धिसागर, शिवानीसिंह थारु, रामलाल जोशी, सरस्वती प्रतीक्षालगायतका लेखक पहिलो आख्यान कृतिबाटै चर्चित बनेका छन् । उनीहरुका पहिलो कृतिलाई नेपाली पाठकले अत्यधिक रुचाए । तसर्थ अहिले बिक्री हुनका लागि उत्कृष्ट वा स्थापित लेखककै कृति बजारमा आउनुपर्छ भन्ने मान्यता राखिँदैन । यसबाट पनि चलेका लेखकको मात्र पुस्तक बिक्री हुन्छ भन्ने धारणा परिवर्तन आएको पुष्टि हुन्छ ।

लेखकलाई पनि स्पोन्सर
खेलाडी, कलाकार आदिलाई स्पोन्सर गर्ने विभिन्न सङ्घसंस्थाको बारेमा नेपाली जनमानस अपरिचित छैन । तर लेखकलाई पनि स्पोन्सर गरेर कुनै कार्यक्रममा सहभागी गराउने अथवा उनीहरुलाई देश दौडाहामा लैजाने ट्रेन्ड पनि नेपालमा बिस्तारै सुरु हुने क्रममा छ । हालै मात्र फाइनप्रिन्टले ‘फाइनप्रिन्ट फिभर’का नाममा चर्चित लेखक (मदनकृष्ण श्रेष्ठ, अमर न्यौपाने, हरिबहादुर थापा, महेशविक्रम शाह, शिवानीसिंह थारु, यज्ञश) लाई सुर्खेत, कोहलपुर, धनगढी आदि स्थानमा लगेर पाठकसँग साक्षात्कार कार्यक्रम ग¥यो । साथै लेखक–पाठकबीच अन्तक्र्रिया पनि गरियो । यस्ता कार्यक्रमले बिस्तारै नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरमा पुगेको र विदेशी मुलुकमा अभ्यास भइरहेका ट्रेन्डले नेपाली पुस्तक व्यवसायीलाई पनि छुँदै छ भन्ने आभास भएको छ । ‘अहिले लेखकलाई पनि स्पोन्सर गर्नेहरु बढेका छन्,’ न्यौपानेले भने, ‘यो सुखद हो । नेपाली लेखकलाई पनि यसरी बजारीकरण गरेर फरक रुपमा प्रस्तुत गर्नु राम्रो हो ।’

गएकै हुन् त सरकारी प्रकाशन गृहका दिन ?
एक समय थियो, गोरखापत्र संस्थानअन्तर्गत छापिने मधुपर्क हजारौं प्रति बिक्री हुन्थ्यो । त्यस्तै थियो, साझा प्रकाशनको मासिक पत्रिका गरिमाको साख पनि । साझाबाट कुनै कृति प्रकाशन गर्न पाउनु लेखकका लागि ठूलो पुरस्कार पाएसरह थियो । त्यतिखेर पुस्तक छापिनुलाई ठूलो मानिन्थ्यो । पुस्तक छापेर रोयल्टी पाइएला भन्ने आशा पनि लेखकले सायदै गर्थे । तर पुस्तक व्यवसायमा निजीक्षेत्रको आक्रामक बजार रणनीतिसँगै लेखकहरु यतातर्फ बढी आकर्षित भएका छन् । पुस्तकको पर्याप्त बजारीकरण गर्ने र ‘सेलेबल’ रुपमा बजारमा पठाउने भएकाले लेखकहरु निजी प्रकाशन गृहप्रति आकर्षित भएका हुन् । अहिले सरकारी प्रकाशन गृहहरु कर्मचारीलाई जागिर खाने माध्यमका रुपमा मात्र सीमित छन् । ‘जहाँ सरकारले साहित्यलाई छोएको छ, त्यहाँ बिग्रिएको अवस्था छ । साझा, प्रज्ञालगायत संस्थाबाट प्रकाशित पुस्तकले बजार पाउँदैनन् । बरु अनलाइनमा छापिएको एउटा रचनाको प्रभाव बढी हुन्छ, सरकारी निकायबाट प्रकाशन भएका कृति त्यत्तिकै बजारमा कता हराउँछन्, कता,’ न्यौपानेले भने, ‘अनि कसरी सरकारी प्रकाशन गृहप्रति लेखकको विश्वास बढ्छ ?’

हतार पनि छ लेखकलाई
पुस्तक व्यवसाय व्यावसायिक त भएको छ । तर सँगै कतिपय लेखकलाई ‘हतारो’ पनि छ । अहिले अध्ययनबिनै पुस्तक लेख्ने र बजारिया मागअनुसारका पुस्तक ल्याउने प्रवृत्ति पनि उसैगरी बढेको छ । यसले गम्भीर पाठक एवम् लेखकलाई चिन्ता थपिदिएको सरोकारवालाहरु बताउँछन् । चर्चित लेखकका पुस्तक हेरेर तिनैको सिको गर्ने प्रवृत्ति पनि छ । त्यस्तै लेख्न कोसिस गर्नेहरु पनि छन् । तर मौलिक किसिमको सिर्जनात्मक क्षमताले मात्र लेखकलाई सक्षम बनाउने फाइनप्रिन्टका बरालको भनाइ छ । यसमा बुकहिलका खड्काले पनि सहमति जनाए । उनले भने, ‘केही लेखकलाई हतारो भएको पक्कै हो,’ उनले भने, ‘त्यसले स्वयम् लेखकलाई नै बेफाइदा गर्छ ।’