खाद्य संस्थानको महाप्रबन्धक बन्न दुर्इ दर्जनको दौडधुप

लामो समयदेखि रिक्त रहेको पदमा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धकमा ल्याउने सूचना प्रकाशित गरेपछि झन्डै दुई दर्जनले आ—आफ्नो पक्षमा लबिङ सुरु गरेका हुन् । गत साउनदेखि संस्थानको महाप्रबन्धक पद रिक्त छ ।

नेपाल खाद्य संस्थानको महाप्रबन्धक बन्न २३ जना प्रतिस्पर्धी देखिएका छन् । लामो समयदेखि रिक्त पदमा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक ल्याउने सूचना प्रकाशित गरेपछि झन्डै दुई दर्जनले आ—आफ्नो पक्षमा लबिङ सुरु गरेका हुन् । गत साउनदेखि संस्थानको महाप्रबन्धक पद रिक्त छ ।

महाप्रबन्धक पदमा देवीप्रसाद बराल, जनक बराल, शिवहरि श्रेष्ठ, कृष्णबहादुर घिमिरे, गोकुलप्रसाद धिताल, लवराज जोशी, रामदेव यादव, सुशील कोइराला, भगवान झा, शिवप्रसाद मिश्र, सुन्दरराम बोहरा, अभिषेककुमार ठाकुर, कृष्णकुमार राई, विनोदकुमार यादव, कीर्तिराज सुवेदी, सुमन अधिकारी, रमेश लम्साल, विनोदकुमार जोशी, अनिलकुमार झा, मनप्रसाद न्यौपाने, हरेराम शर्मा, सन्तोष पौडेल तथा मोहनप्रकाश चन्द महाप्रबन्धकको पद प्राप्त गर्न लागिपरेका छन् ।

सरकारका विभिन्न तहमा कार्यरत, बढुवा भएका, बर्खास्त भई विभिन्न जिम्मेवारी सम्हालेका व्यक्तिले पनि महाप्रबन्धकका लागि दाबी गरेका छन् । यसअघि खाद्य संस्थानको सञ्चालक समितिका सदस्य रहेका देवीप्रसाद बराल महाप्रबन्धकको दाबेदार छन् । त्यस्तै जनक बराल नेकपा निकट हुन् । उनी पनि महाप्रबन्धकका उम्मेदवार छन् ।

महाप्रबन्धका लागि दाबेदार मानिएका शिवहरि श्रेष्ठ तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा बिमा संस्थानको महाप्रबन्धक भएका थिए । त्यसपछि उनी खाद्य संस्थानको महाप्रबन्धकमा नियुक्त भएका हुन् । २०७० मा कार्यसम्पादन मूल्याङ्कनका आधारमा सय पूर्णाङ्कमा उनले ३० अङ्क मात्रै ल्याएका थिए । जहाँ ५० अङ्कभन्दा कम आएमा बर्खास्त हुनुपर्ने व्यवस्था थियो र उनको बर्खास्तगी पत्र लेखेर आपूर्ति मन्त्रालयमा पठाइएको थियो ।

महाप्रबन्धकका अर्का दाबेदार हुन् कृष्णबहादुर घिमिरे । उनी नेपाल सरकारका उपसचिव हुन् । प्युठानमा केही समय काम गरेका उनी फेरि खाद्य संस्थानको महाप्रबन्धक बन्ने लाइनमा छन् । उदयपुर सिमेन्ट उद्योग र जनक शिक्षा सामग्री केन्द्रमा जिम्मेवारी लिएका अनिल झा पनि संस्थानको महाप्रबन्धकका आकाङ्क्षी देखिएका छन् ।

त्यस्तै आठौ तहबाट बर्खास्त भएका र सुर्खेतको खाद्य संस्थानको जिम्मेवारी लिएका मोहनप्रसाद चन्द पनि महाप्रबन्धका प्रतिस्पर्धी हुन् । रामदेव यादव र विनोदकुमार यादव पनि महाप्रबन्धका अर्का दाबेदार हुन् । उनी दुवैजना आपूर्तिमन्त्री मातृका यादव निकट हुन् । मातृका यादवले आफ्नै मान्छेलाई महाप्रबन्धकमा नियुक्त गर्ने सम्भावित उम्मेवारमा उनीहरु पर्छन् । यस्तै आपूर्ति मन्त्रालयको उपसचिव सम्हालेका लवराज जोशी पनि खाद्यको महाप्रबन्धक बन्ने दाउमा छन् ।

त्यस्तै गरी लामो समय सरकारको सहसचिवस्तरको जिम्मेवारी सम्हालेका गोकुलप्रसाद धिताल पनि खाद्यको महाप्रबन्धकको दाबेदार देखिएका छन् । अर्का अाकाङ्क्षी शिवप्रसाद मिश्र आठौँ तहबाट नवौँ तहमा बढुवा भएका व्यक्ति हुन् । महाप्रबन्धक बन्न मान्यता प्राप्त संस्थाबाट कम्तीमा स्नाकोत्तर तह उत्तीर्ण भर्इ सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

खाद्य संस्थानले याे पद पूर्ति गर्न तीन पटकसम्म सूचना प्रकाशित गरिसकेको छ । पहिलो पटक २०७४ भदौ ९ गते प्रकाशित सूचनाका आधारमा दुई जनाको मात्र रितपूर्वक निवेदन परेको थियो । दोस्रो पटक २०७२ माघ ६ गते ७ दिनको म्याद दिई सूचना प्रकाशित गरिएकोमा पर्याप्त दरखास्त नपरेपछि छनौट तथा सिफारिससम्बन्धी प्रक्रिया यथावत राखिएको थियो । र, २०७५ बैशाख ६ गते पुनः तेस्रो पटक सूचना प्रकाशित गरेको थियो ।