मदिरामा गुणस्तर नियमन कानुन बनाउँदै सरकार

बियर तथा हाडड्रिङ्क्सको गुणस्तरबारे पटकपटक प्रश्न उठन थालेपछि सरकार आफैंले गुणस्तर परीक्षण गर्ने भएको हो ।

लामो समयदेखि गुणस्तर परीक्षणबिनै मदिरा बिक्रीवितरण हुँदै आए पनि अबदेखि सरकारले गुणस्तर परीक्षण गर्ने भएको छ । बियर तथा हाडड्रिङ्क्सको गुणस्तरबारे पटकपटक प्रश्न उठन थालेपछि सरकार आफैंले गुणस्तर परीक्षण गर्ने भएको हो ।

‘मदिराको गुणस्तर परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कानुन बनाइरहेको छ,’ विभागका महानिर्देशक सञ्जीव कर्णले भने, ‘जतिसक्दो छिटो कानुन बनाएर कार्यान्वयनमा ल्याउँछौं ।’ अहिले उद्योगीले मनलाग्दी रुपमा मदिरा उत्पादन गर्ने र सोझै बजारमा पठाउने गरेका छन् । त्यस्तो विकृति रोक्न र गुणस्तरीय उत्पादनलाई प्रोत्साहन गर्न कानुन बनाउन लागिएको महानिर्देशक कर्णले जानकारी दिए ।

हरेक खाने कुराको परीक्षण खाद्य प्रविधिले गर्दै आएको छ । मदिराको गुणस्तरबारे अहिलेसम्म सरकारले परीक्षण गर्ने गरेको छैन । ‘उनीहरुले उत्पादन गरेको मदिरा खानयोग्य छ/छैन भन्ने कुरा कसैलाई थाहा छैन,’ कर्णले भने, ‘हरेक क्षेत्रबाट मदिराको गुणस्तरबारे गुनासो आएपछि सरकारले कानुन बनाएर नियमन गर्न लागेको हो ।’

पहिलो चरणमा हाडड्रिङ्क्सको गुणस्तर परीक्षण गर्न कानुन बनाइने उनले बताए । त्यसैगरी, बियरको गुणस्तर नियमनका लागि पनि कानुन बनाउन लागिएको विभागले जनाएको छ । ‘खासगरी आयातित मदिरा, हार्ड ड्रिङ्क्स, बियरको गुणस्तरमा धेरै समस्या छन्,’ उनले भने, ‘उद्योगीले गुणस्तरमा ‘कम्प्रोमाइज’ गरेर धेरै नाफा कमाउन खोजेकाले सरकारले लगाम लगाउन खोजेको हो ।’

अहिलेसम्म उद्योगीकै फ्याक्ट्रीमा रहेको ल्याबको परीक्षणलाई मान्यता दिएको थियो । तर राज्यको उपस्थिति नभएपछि उद्योगीले ल्याबलाई बिगारेर राख्ने र सोझै उत्पादित मदिरा बजारमा पठाउने गरेको गुनासो आएको छ । यसलाई निरुत्साहित गर्न सरकारले गुणस्तर परीक्षण गर्ने भएको कर्णले जानकारी दिए । भन्सार तथा आन्तरिक राजस्व विभागले कर छली तथा अन्तःशुल्क छलीको विषयमा मात्रै अनुगमन गर्ने गरेको छ । तर कुनै पनि निकायले गुणस्तर परीक्षण नगरेकाले सरकारले कानुन बनाएर अनुगमन गर्न लागेको बताए ।

नेपालमा मदिरा उद्योगीबीच तीव्र प्रतिस्पर्धा बढ्दै गएको बेला गुणस्तरमा कम्प्रोमाइज्ड गरेर उत्पादन बजारमा पठाएको हुन सक्ने उपभोक्ताकर्मीको बुझाइ छ । उपभोक्ताकर्मी माधव तिमिल्सिनाले सरकारले कानुन बनाएर मदिरा उद्योगमाथि गर्न लागेको अनुगमन स्वागतयोग्य भएको बताए । ‘हामीले बारम्बार कुरा उठाउँदै आएका थियौं,’ उनले भने, ‘अहिले त्यसले सार्थकता पाएको छ ।’

उनका अनुसार जतिसक्दो चाडो कानुन बनाएर मदिराको गुणस्तर परीक्षण गर्नुपर्छ । मदिरा उत्पादक सङ्घका अध्यक्ष रवि केसीले उद्योगीसँग छलफल गरेर मात्रै यस्तो कानुन बनाउनुपर्ने बताए । ‘अहिलेसम्म हामीसँग कुनै सुझाव तथा सल्लाह मागिएको छैन,’ उनले भने, ‘हामीसँग सम्बन्धिक कानुन बनाउँदा सल्लाह गरेर मात्रै बनाउनुपर्छ ।’